भद्रपुर ।  मन्दिरको वार्षिक उत्सव तथा महाशिवरात्रिको अवसर पारेर  पहिलो पटक १०८ महाआरती हुने भएको छ ।

भद्रपुर–९ स्थित जमदार चोक पुहाँतुबारीमा रहेको श्रीरामेश्वर शिवपाञ्चायन मन्दिर  समावेशी धाममा महाआरतीसहित साङ्गीतिक भजन साँझ हुने भएको हो ।

यही फागुन २५ गते शुक्रबार महाशिवरात्रिको अवसरमा धाम परिसरमा साङ्गीतिक भजन साँझ तथा महाआरती हुने भएको सोमबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको थियो । धामको आयोजना र जमदारचोक युवा परिवारको सह–आयोजनामा साङ्गीतिक भजन साँझ तथा महाआरती हुने धाम निर्माण तथा व्यवस्थापन समिति अध्यक्ष सरोज निरौलाले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जमदारचोक युवा परिवारका अध्यक्ष पदम अधिकारीले बताए । २०६० सालमा महाशिवरात्रिकै दिन स्थापना गरिएको मन्दिरले बर्सेनि महाशिवरात्रिका दिन विविध कार्यक्रम गर्दै आइरहे पनि यो वर्ष फरक ढङ्गले गर्न लागिएको समितिको भनाइ छ । करिब ६ कठ्ठा क्षेत्रफलमा रहेको मन्दिरलाई धामको रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको व्यवस्थापन समिति उपाध्यक्ष गोपालकृष्ण भट्टराईले बताए ।

पहिलो पटक महाआरती गर्न लागिएको र आवश्यक सामग्री भारतको बनारसबाट आउने क्रममा रहेको जनाइएको छ । महाआरतीपश्चात् धार्मिक वक्ताबाट शिव महिमा वाचन हुनेछ भने साङ्गीतिक साँझ अन्तर्गत पुष्पन प्रधान र कृपा पौडेलले सङ्गीतमय भजन गाउने जनाइएको छ । कार्यक्रम सफल बनाउन भव्य तयारी गरिएको छ ।