धरानका चर्चित गायक नवराम राईको उपचारका लागि ९९ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

धरान-१८ रत्न चोक निवासी हाल हङकङ बस्दै आएका महाप्रसाद राईले गायक राईको उपचारार्थ आर्थिक सहयोग गरेका हुन् ।

सहयोग रकम महाप्रसादका कान्छा भाइ सुनसरी फुटबल संघका अध्यक्ष नवीन राईले गायक राईकै घरमा पुगेर सोमबार हस्तान्तरण गरेका छन् ।

महाप्रसाद राईले हङकङस्थित आफू काम गर्ने कम्पनी 'गेमन प्लान्ट डिपार्टमेन्ट'का सहकर्मीसँग सहयोग रकम सङ्कलन गरी नेपाल पठाएको उनका कान्छा भाइ नवीन राईले जानकारी गराए ।
     
लोकप्रिय गित 'गुराँसको फेद मुनि, सम्झनाको छायाँ' गीतका पहिला गायक तथा सङ्गीतकार हुन् नवराम राई ।

लामो समय धरान-१७ रत्नचोक बसेका राई हाल ११ नं वडा स्थित रिटिङमा बस्दै आएका छन् । राईको दुवै मृगौलामा समस्या देखिएको छ । उनी करिब दुई हप्ताअघि विपी अस्पतालमा उपचार गराई भर्खरै डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् ।

डाक्टरका अनुसार उनको हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुन्छ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ । थप उपचारको लागि बाहिर लान परे पैसा नभएको उनले बताए । गायक राईले सहयोगका लागि संचारमाध्यममार्फत साथीभाइ, इष्टमित्रलाई आग्रह गरेका छन् । लामो समय सङ्गीत क्षेत्रमा लागेका उनले करि  डेढ दर्जन गीत आफैं गाइसकेका छन् भने केही गीतमा सङ्गीत भरेका छन् ।