इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अघिल्लो कार्यकालमा मन्त्री हुँदा अधुरो रहेका थुप्रै कामहरू यो कार्यकालमा गरेर देखाउने बताएकी छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र सुनसरी ३ मा सञ्चारकर्मीसँग भेटघाट गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले आफ्नो मन्त्रालयसँग जोडिएका विषयमा कानूनले दिएको अधिकार प्रयोग गर्दै नीतिसम्मत काम गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

अघिल्लो कार्यकालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको हकहित र अधिकारको बारेमा प्रभावकारी योजना बनाए पनि कार्यान्वयन गराउन नपाई बिदा हुनुपरेकोले यो कार्यकालमा सबै पुराना योजना सकेर बिदा हुने बताइन् । मन्त्री चौधरीले सुनसरी ३ को ग्रामीणभेगमा विकासको लहर ल्याइसकेको दाबी गर्दै आफू सांसद् हुँदैखेरी भौतिक पूर्वाधार विकासमा कुनै कसर बाँकी नराखेको पनि दाबी गरिन् ।

मन्त्री चौधरीले सडकमा भांैतारिएका, विभिन्न कष्ट सहेर अलपत्र परेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी सातै प्रदेशमा वृद्धाश्रम स्थापना गर्ने योजना यो कार्यकालमा पूरा गर्ने बताइन् । त्यस्तै हरेक सन्तानले आफ्नो कमाइको ११ देखि १५ प्रतिशत आफ्ना आमाबाबुको लागि छुट्याउने व्यवस्थासहितको कानून निर्माण गर्नेदेखि हरेक स्थानीय तहहरूमा छुट्टै महिला विभाग गठन गर्ने सम्मको योजना रहेको बताइन् ।

देशभर बालविवाह न्यूनीकरण, महिला हिंसाको अन्त्य, चेलीबेटी बेचबिखनजस्ता जघन्य अपराध न्यूनीकरणका लागि सातै प्रदेशका स्थानीय तहहरूमा छुट्टै महिला विभाग गठन गर्ने तयारी भइरहेको मन्त्री चौधरीले बताइन् । त्यस्तै एक अर्को प्रसङ्गमा भने मन्त्री चौधरीले यो सत्ता गठबन्धन आगामी ८४ को निर्वाचनसम्म टिक्ने पनि दाबी गरिन् ।

एमाले र माओवादी केन्द्रसहित साना दलहरूलाई लिएर बनेको सत्ता गठबन्धनको शक्ति देखेर काङ्ग्रेससहितका दलहरू आत्तिएको उनको धारणा थियो । मन्त्री हुने बित्तिकै अमेरिका भ्रमणको अफर त्यागेर आफू जनतामाझ आफ्नै निर्वाचन क्षेत्रमा आएको पनि उनले प्रष्ट पारिन् ।

११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, विवाद उत्पन्न भएपछि मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्ला आएकी हुन् । नेकपा (एमाले) अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि उनले सोही मन्त्रालय सम्हालेकी थिइन् ।