विजयपुर । २४ औं बूढासुब्बा गोल्डकपको फाइनलमा मोरङ फुटबल सङ्घ प्रवेश गरेको छ ।
बुधबार आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै मोरङ फुटबल सङ्घ फाइलनमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा धरानका मिलन राईको प्रहार मोरङका गोल किपर पूर्ण चेम्जोङले रोकेपछि धरान पराजित बन्न पुग्यो ।
धरानका दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले गोल गरे । मोरङको तर्फबाट अशोक खवास, धीरेन क्षेत्री, साइमन लिम्बू, आदित्य शाक्य र सागर तिवारीसहित पाँचै जनाको प्रहार गोलमा परिणत भयो । खेलको म्यान अफ द म्याच मोरङका गोल किपर पूर्ण चेम्जोङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
बिहीबारको अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । शनिबार फाइनल विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।