भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिकामा निर्माण गरिएको कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोलुबुङ्गे गौडा रमिते गौडा झोलुङ्गे पुलको उद्घाटन गरे । उक्त पुलले बुद्धशान्ति ६ र ७ नम्बर वडालाई जोड्छ । पुलको लम्बाइ चार सय ७७ मिटर लामो छ । निर्माण लागत पाँच करोड ९८ लाख सात सय ६१ रुपैयाँ खर्च भएको जनाइएको छ ।

स्थानीय टिमाई खोलामा निर्मित पुलको शिलान्यास पनि महामन्त्री शर्माले नै गरेका थिए । पाँच महिना अगि शिलान्यास गरिएको थियो । पुल थानी जगदम्बा जेभीले पाँच महिनामै निर्माण गरेको हो । पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ भने पुलबाट एक पटकमा ६४७ जना ओहोरदोहोर गर्न सक्छन् । 

महामन्त्री शर्माले बुद्धशान्ति ६ र ७ का बासिन्दालाई मात्रै नभई इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्नसमेत पुलले सहज भएको बताए । पुल निर्माण पूर्व नै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । झोलुङ्गे पुल घुम्न आउनेको चाप बढेपछि पालिकाले नगर प्रहरी परिचालन गरेर यात्रुको व्यवस्थापन गरिएको छ ।