धरान । सुनसरीको धरानमा शनिबार बिहानको राति करिब पौने ३ बजेतिर एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ ।
करिब पाँचजनाको समूहले हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–१५ सदनरोडका २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।
उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनी हाल पनि बोल्न सक्ने अवस्थामा नरहेकाले घटना के कति कारणले भएको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न भएको आशङ्कामा १५ जना जतिलाई पक्राउ गरे पनि प्रमाणका आधारमा चार जना मात्रै संलग्न भएको खुलेको छ । उनीहरूको नाम गोप्य राखिएको छ । ‘अनुसन्धानकै चरणमा छ, १५–१६ जना नै पक्राउ गर्यौँ’ डिएसपी जवेगूले भने, ‘चारजनालाई इभिडियन्ससहित पक्राउ गरेका छौँ । अन्डर इन्भेस्टिगेसनमै रहेकाले नाम नखुलाऔँ ।’ प्रहरीका अनुसार घाइतेको अवस्था भने चिन्ताजनक नै रहेको जनाइएको छ ।
धरानमा पछिल्लो समय फेरि खुकुरी आतङ्क बढेको भन्दै धरान–१५ सदनरोडबासीले चिन्ता जाहेर गरेका छन् । यस्तै धरान उपमहानगरपालिका–३ सब्जीमण्डी छेउमा दुई युवाबीच विवाद हुँदा धरान–१४ का २७ वर्षीय विशाल मगर घाइते भएका छन् । मादक पदार्थ सेवन गरी घाइते मगर र धरान–७ का २८ वर्षीय कालु भनिने सरोज लिम्बूबीच विवाद भएको थियो ।
विवादको
क्रममा विशाललाई सरोजले निधारको दायाँ भागमा प्रहार गर्दा रगत बगेको थियो ।
उनलाई तत्कालै धरानस्थित विजयपुर अस्पतालमा उपचारका लागि लगिएको र हाल
सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कुटपिटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको छ ।