भद्रपुर । कोशी प्रदेशका १४ जिल्लामध्ये झापाबाट सबै भन्दा बढी वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरूसँग गरेको सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो पाइएको हो ।
सामीले दिएको तथ्याङ्क अनुसार झापाबाट गत आर्थिक वर्षमा ६ हजार ५४६ महिलासहित ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क प्रस्तुत गरेसँगै यस्तो पाइएको हो ।
रोजगारीमा जाने सबैभन्दा बढी मलेसिया लगायत खाडी मुलुकहरू कतार, साउदी अरब र दुबई गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक शेखर बुढाथोकीले बताए । रोजगारीमा गएकामध्ये २० देखि २५ प्रतिशत मात्र नेपालीले सीप र भाषा सिकेर र करिब १० प्रतिशतले मात्र कानुनी परामर्श लिएर बुझेर गएको संयोजक बुढाथोकीले बताए । त्यही कारणले वैदेशिक रोजगारीमा जानेहरू ठगिने र समस्यामा पर्ने क्रम बढ्दो देखिएको उनको भनाइ छ ।
सीप, भाषा नसिकी तथा कानुनी परामर्श नलिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गइरहेको उनले बताए । त्योसँगै अशिक्षा, गरिबी, स्वदेशमा रोजगारीको अभाव, देखासिकी गर्ने बानी, पारिवारिक मनमुटाब पनि वैदेशिक रोजगारीमा जानुको मुख्य कारण रहेको उनको भनाई छ ।
आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को पुस मसान्तसम्म जिल्लामा ३८ जनाको उजुरी परेको छ । जसमध्ये ६ वटा उजुरीको समाधान भएकोमा ३२ वटा उजुरी अझै प्रक्रियामा रहेको छ । जसबाट ३ लाख ८६ हजार ५३१ रुपैयाँ असुलउपर गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गराएको उनले बताए ।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेकोले यसको न्यूनीकरण तथा रोकथामका लागि स्थानीय सरकार गम्भीर हुनुपर्ने सामीका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले बताए । गत आर्थिक वर्ष कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना रोजगारीमा गएकामध्ये २८४ जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार २०७५ भदौदेखि २०८०/८१ सम्म कोशी प्रदेशका ३२ स्थानीय तहमा २ लाख ६५ हजार ५२९ जनाले सूचना तथा परामर्श लिएका थिए ।
न्यायमा सहजीकरण ४ हजार २५६, सीप तालिम एक हजार ५२९, मनोसामाजिक परामर्श सेवा २ हजार ५३२ र वित्तीय साक्षरता १२ हजार ९०९ जनाले लिएको उनले बताए । भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।