विराटनगर । विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मैदानमा शनिबारदेखि विराट एक्स्पो सुरु भएको हो ।
माघ २० गतेसम्म चल्ने विराट एक्स्पोको सङ्घीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे । एक्स्पोको उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकार निर्माणपश्चात् मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताए । राजनीति दुरुस्त नभई अरु कुनै क्षेत्रमा सुधार नहुने बुझेर नै एमाले र काङ्गे्रस मिलेर सरकार बनेको बताए । सरकारले राजनीतिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको भनाइ थियो । उत्पादन, रोजगारी, बैङ्कको तरलता, ब्याजदर, वैदेशिक मुद्रा सञ्चिति जस्ता सबै आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजाहरू हासिल गरेको उनले बताए । अर्थमन्त्री पौडेलले अझ गतिशील ढङ्गले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए ।
सरकारले सातै प्रदेशमा एक–एक हजार बिगाहामा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको खोजी गर्न आग्रह गरे । साथै प्रदर्शनीस्थल निर्माणमा पनि सरकारले सहयोग गर्ने बताउँदै सम्भावित स्थानको खोजी गर्न अनुरोध गरे ।
‘मुलुकलाई एक थान सरकार दिनका लागि मात्रै यो सरकार बनाएको हैन । नागरिकमा रहेको निरासा चिर्न, उत्पादन र लगानीमा वृद्धि गर्दै उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याएर रोजगारी सिर्जना गर्नका लागि सरकार बनेको हो । कुरेर बस्ने र नियमित ढङ्गको काम गरेर बस्ने पक्षमा सरकार छैन’ उनले भने, ‘त्यसैले महŒवपूर्ण अध्यादेश ल्याएको हो । सुशासन र सेवा प्रवाहको क्षेत्रमा देखिएका समस्या समाधान गर्दै प्रभावकारी बनाउन अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन विद्यमान कानूनमा देखिएका अवरोधहरूलाई हटाउने उद्देश्यले एकसाथ अध्यादेशको माध्यमबाट २९ कानूनमा संशोधन गरिएको हो ।’
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्र्ती क्षेत्रको बजारलाई गुलजार बनाउन सरकारले आवश्यक नीति बनाउनु पर्ने बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा उद्योग सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव रहेकोले विदेशी लगानी भित्रिन छोडेको बताए । उच्च राजश्व दर रेटका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा पूर्वको औद्योगिक क्षेत्र सोचे अनुसार अगाडि बढ्न नसकेको सुरानाले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात भइरहेको सामानमा भन्सार राजश्व दर वृद्धि गरिदिँदा स्वदेशी उद्योग आत्मनिर्भर बन्ने धारणा व्यक्त गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वदेशी उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ नेपालमा उत्पादन नभएसम्म औद्योगिक क्षेत्र अगाडि बढ्न नसक्ने बताए ।
कार्यक्रममा
धन्यवाद ज्ञापन गर्दै उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दलाल
राठीले सबैको साथ सहयोगले विराट एक्स्पो सफल बनाउनुपर्ने बताए । ‘डिजिटल
कोशीको थिममा आयोजना गरिएको विराट एक्स्पोलाई युवा लक्षित तालिम, सेमिनार र
रोजगारले विद्यार्थीहरूलाई आफ्नो करियरको मार्गदिशा कोर्न ठूलो सहयोग
पु¥याउने वरिष्ठ उपाध्यक्ष राठीले भने ।
उद्योग सङ्गठन मोरङका
उपाध्यक्ष एवम् विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले नेपाल, भारत,
बङ्गलादेश र पाकिस्तान गरी ४ देशका २ सय ६८ स्टलबाट औद्योगिक एवम्
व्यापारिक सामानको बिक्री र प्रचार–प्रसार भइरहेको बताए ।