भद्रपुर । झापाको एउटा परिवारमा छोराको उपचारका क्रममा सबै सम्पत्ति सकिए पनि रोग निको नभएपछि  यतिबेला  परिवारमा आर्थिक सङ्कट आइपरेको छ । आर्थिक अवस्था कमजोर भएका भद्रपुर–७ तेलीभिट्टाका दर्जी परिवारमा सङ्कट आइपरेको हो ।

बुबा डिगबहादुर नेपाली र आमा सङ्गीता नेपालीका दोस्रो सन्तानका रूपमा रहेका १३ वर्षीय हिमाल कार्की ढोलीलाई मुटुसम्बन्धी जटिल प्रकारको रोगले थला पारेपछि रकम अभावका कारण उनी यतिबेला अस्पतालको शøयामा छट्पटाइरहेका छन् ।

जन्मिदै मुटुमा समस्या देखापरेपछि दुई वर्ष उमेरभित्रै दुईपटक शल्यक्रिया गरिएको बिरामीका बुबा नेपालीले बताए । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारका लागि वैदेशिक रोजगारीमा गएर ल्याएको रकम, दशधुर जग्गा र आफन्तको सहयोगबाट गरी २५ लाख रुपैयाँ उपचारमा सकिएको उनी बताउँछन् ।

अब विदेश जान पनि नसक्ने र कमाएर ल्याएको रकम पनि सबै उपचारमा सकिएपछि छोरालाई बचाइदिन उनले अनुरोध गरेका छन् । डिगबहादुर नेपालीको नाममा राष्ट्रिय वाणिज्य बैङ्क भद्रपुरमा रहेको खाता नम्बर २२१०१०००३७५४५०१० मा आर्थिक सहयोग जम्मा गरिदिन उनले सबैसँग अनुरोध गरेका छन् । हाल बिरामीलाइ भक्तपुर स्थित गङ्गालाल हृदय रोग केन्द्रमा राखिएको र चिकित्सकले ५ लाख रुपैयाँ उपचारमा लाग्ने बताएको उनले टेलिफोनमार्फत् सुनाए ।

जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने भएकोले रकम जम्मा गर्न अस्पतालले भनेको उनले बताए । उपचार गराएर पुनर्जन्म दिलाउन छोराले पनि बारम्बार भन्ने गरेको रुँदै टेलीफोनमार्फत् उनले पीडा सुनाए । मुटुमा प्वाल परेको र पाइप राखिए पनि पुनः समस्या देखापरेकोले थप शल्यक्रिया गर्नुपर्ने चिकित्सकको भनाइलाई उद्धृत गर्दै उनले सुनाए । शल्यक्रियापश्चात् पनि बेला–बेला चिकित्सकलाई चेकजाँच गराइरहे पनि पुनः समस्या देखापरेको उनको भनाइ छ ।

केही दिनअघि भाइलाई प्रादेशिक अस्पताल भद्रपुर हुँदै बिर्तामोडको बी एण्ड सीबाट रेफर लिएर गङ्गालाल हृदय रोग केन्द्रमा लगिएको बिरामीको दिदी माया दर्नालले बताइन् । भाइको उपचारमा सबै सम्पत्ति सकिएपछि पछिल्लो पटक हुने शल्यक्रियामा रकम अभाव भएपछि सहयोग गरिदिन हुन उनले अनुरोध गरेकी छन् ।

himal1