धरान। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्ला ८ किलोमिटर रनमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका छन् ।
हिसानले यसै वर्षबाट ३ किलोमिटर थप गरी ८ किलोमिटर रन आयोजना गरेको हो । केन्याली धावक मौरिकीले २४ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै १२ हजार रुपैयाँसहित प्रमाण–पत्र पाए । यस्तै २५ मिनेट ३१ सेकेन्डमा दूरी पूरा गर्दै सरोज लिम्बू दोस्रो भए । त्यस्तै २६ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पूरा गरेका ओशन राई तेस्रो बनेका छन् ।
महिलातर्फ भने इन्द्रकला नेम्वाङ प्रथम हुँदा जुही राई दोस्रो र शकुन्तला राई तेस्रो भइन् । उनीहरूले क्रमशः ३१ मिनेट तीन सेकेन्ड, ३२ मिनेट ३५ सेकेन्ड र ३३ मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । उनीहरूले क्रमशः नगद १२ हजार, १० हजार र आठ हजार रुपैयाँसहित प्रमाण–पत्र पाए ।
यस्तै सेकेन्डरी समूहअन्तर्गत पाँक किलोमिटर रनमा कालुमान राई प्रथम हुँदा अमर यादव दोस्रो भएका छन् । यता पुरुषतर्फको तेस्रो र महिलातर्फ प्रथम स्थानमा भने निवेदन परेकाले छानबिनपछि निर्णय सुनाउने कार्यक्रम संयोजक सुवास लुइँटेलले जानकारी दिए । महिलातर्फ दोस्रो र तेस्रो क्रमशः विनिता राई, तिर्सना राई भएका छन् । उनीहरूले क्रमशः नगद १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
प्राथमिक तहतर्फ तीन किलोमिटर रनमा पनि प्रथम स्थानमा निवेदन परेकाले
पछि निर्णय गर्ने भएको छ । दोस्रो र तेस्रो स्थानमा भने रोमन माझी र मनिष
लिम्बू भएका छन् । महिलामा रेश्मा दर्जी प्रथम हुँदा राधा माझी दोस्रो र
करिना राई तेस्रो भएकी छन् । उनीहरूले जनही नगद पाँच हजार, तीन हजार र दुई
हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा देशविदेशका गरी कुल ८ सय
धावकधाविका सहभागी बनेका थिए ।