धरान । भारतको ७६ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय (पी.पी.ओ.) धरानले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ ।
पेन्सन वितरण कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले भारतको राष्ट्रिय झण्डोत्तोलन र सहिद स्मारकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात गरेका थिए । उनले कार्यालयको प्रगति विवरणसमेत सुनाए ।
यस अवसरमा वीर पदक प्राप्त गर्ने १० जनालाई ब्ल्याङ्केट तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा भारतीय राजदुतावास डिफेन्स विङ्स काठमाडौंबाट नेपालस्थित भारतीय भूपू सैनिकहरूको लागि हरेक वर्ष छापिने पत्रिका ‘भूपू २०२५’ को संस्करण लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका छन् । भूतपूर्व सैनिकहरूको मनोरञ्जनका लागि रस्सी तान र सियोमा धागो छिराउने प्रतियोगिता पनि राखिएको थियो । प्रतियोगितामा भूपू समिति तरहरा विजयी भएको छ । भूपू समिति इटहरी दोस्रो भएको कार्यालयले जनाएको छ ।
यसैगरी भारतीय भूपू समितिबीच भएको दोस्रो इन्टर भूपू समिति भलिबल प्रतियोगिताका विजेता धरान ‘ए’ साथै उपविजेता धरान ‘बी’ टिमलाई ट्रफी र प्रमाण–पत्र मेजर कनोजियाले वितरण गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल पकलीका डिआईजी शम्भु सुवेदी, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका डिआईजी इन्दुकुमार लामा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराज सापकोटा, ब्रिटिस गोर्खा वेल्फेयर सेन्टर धरानका इन्स्पेक्टर श्यामकुमार राई, १३ नं. वडाध्यक्ष नेत्र काफ्ले, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिना, कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी विनोद घिमिरे, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतको सहभागिता रहेको कार्यालयका सेक्रेटरी इञ्चार्ज सिपी राईले जानकारी दिए ।