धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा साविक विजेता एनआरटी क्लब काठमाडौँले पाहुना टोली भारतको युकेएफसीलाई सहज जित निकाल्दै उपाधि होडमा पुगेको छ । उसले लिग लिडर चर्च ब्वाइजसँग भेट पक्का गरेको छ ।
एनआरटीले पाहुना टोलीलाई ३–१ गोलअन्तरले हराउँदा एनआरटीका प्रदीप बुढाथोकीले दुई गोल गरे । यस्तै म्यान अफ दी म्याच खेलाडी शिशिर लेखीले एक गोल गरे । सुरुवाती गोल खेलको २८ औँ मिनेटमा लेखीले नै गरेका थिए । एनआरटीबाट खेलको २८ औँ, ४५ औँ र ७६ औँ मिनेटमा गोल भयो ।
जसमा एनआरटीका बूढाथोकी चम्किए । बूढासुब्बामा एनआरटीले फेरि पनि उपाधि हत्याउने सपना बोकर मैदान उत्रिने सम्भावना छ । तर, त्यसका लागि लिग लिडर चर्च ब्वाइज बाधक बन्न सक्ने सम्भावना छ । बूढासुब्बा गोल्डकपमा विगतदेखि नै काठमाडौँको बर्चश्व हुँदै आएको छ । अहिलेसम्म पाँच विदेशी टिमले उपाधि जितेका छन् भने त्यसयताका सबै खेल काठमाडौँले जितेको छ ।
पाहुना टोलीबाट एक मात्रै गोल खेलको ३१ औँ मिनेटमा हेमराज भुजेलले गरे । खेलको म्यान अफ दी म्याच लेखीले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए । फाइनल खेल माघ २६ गते शनिबार हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।