धरान/नेपालकै पुरानो क्लबमध्येको एक न्यूरोड टिम (एनआरटी) ले २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप जित्दै बूढासुब्बामा जितमा ह्याट्रिक पूरा गरेको छ । 

गत पुसमा सम्पन्न झापा गोल्डकपमा चर्च ब्वाइजसँग ३–१ गोलअन्तरले बेहोरेको हारलाई भुलाउने गरी एनआरटीले शनिबारको फाइनलमा २–१ गोलले हराउँदै उपाधि जितेको हो । त्यसो त, आहा–रारा गोल्डकपको २४ औँ संस्करणको पहिलो भेटमा चर्च ब्वाइजसँग भोगेको पराजयको पनि बदला लिन सफल भएको छ ।

bhudasubba_goldcup (1)

धरान फुटबल क्लबको आयोजनामा २०५५ सालदेखि हुँदै आएको बूढासुब्बा गोल्डकपमा एनआरटीले २०६४ सालमा सम्पन्न दशौँ बूढासुब्बा गोल्डकप उचालेको थियो । शनिबार सम्पन्न फाइनल खेलमा पनि चर्च ब्वाइज २–१ गोलअन्तरले स्तब्ध बन्यो । 

बूढासुब्बा गोल्डकप उचाल्दै नगद १० लाख रुपैयाँसहित ट्रफी पाएको छ । खेलको २३ औँ मिनेटमा चर्च ब्वाइजले पाएको पहिलो फ्रिकिकलाई कप्तान अनन्त तामाङले फ्लिक हेड गरी गोलमा परिणत गरे ।

यता २६ औँ मिनेटमा एनआरटीका विदेशी खेलाडीको कर्नर प्रहारमा सरोज घिसिङले हेड गरेको बल माथिल्लो बारमा लागेर रिबाउन्ड भएको थियो । सोही बललाई अर्का विदेशी खेलाडी हेनरी एडिसे पोकोले गोलमा परिणत गरे । खेलको ५७ औँ मिनेटमा हेनरी पोकोले ठूलो डिबक्स क्षेत्रबाट गरेको प्रहार गोलमा मात्रै परिणत भएन सोही बल नै जितका लागि निर्णायक बन्यो ।