धरान / केबलकारको पक्षमा सामाजिक सञ्जालमा लेख्दै आएका पदम चेन्जी माबोलाई कालोमोसो दल्ने आठजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीबाट ‘आपराधिक उपद्रव’ मुद्दामा आठजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएका ‘नो केबलकार समूह’ पक्षधरका व्यक्तिहरूको नाम गोप्य राखिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता इन्स्पेक्टर दिनेश अधिकारीले ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए । उनले फोनसम्पर्कमा भने, ‘८ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ । पीडितले उजुरी दिइसक्नुभएको छ । आपराधिक उपद्रव मुद्दा चल्नेछ ।’
आपराधिक उपद्रवमा क्षतिअनुसारको माग दाबी हुने व्यवस्था रहेको छ । हाल कालोमोसो दल्ने व्यक्तिहरू फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले कालोमोसो दल्ने व्यक्तिहरू हालसम्म पक्राउ नपरेको र खोजी कार्य भइरहेको बताए । यता पीडित पदम चेन्जी माबोले आफूले प्रहरीमा आइतबार राति नै उजुरी दिइसकेको बताए । अन्य विषय प्रहरीलाई नै बुझ्न उनले आग्रह गरे । आइतबार धरान–२ देशीलाइनको एक होटलमा याक्थुङ चुम्लुङको दोस्रो केन्द्रीय महाधिवेशनबारे जानकारी दिनका लागि गरिएको पत्रकार सम्मेलनपश्चात् नो केबलकार समूह पक्षधरले कालोमोसो दल्दै हातपातको प्रयास गरेका थिए ।
पीडित पदम चेन्जी माबोले ब्लाष्टकर्मीलाई भनेका थिए, ‘हाम्रो दोस्रो महाधिवेशन सम्पन्न भएपछि त्यसको बारेमा पब्लिकलाई जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो । करिब १२ बजेको थियो होला । एक्कासि आएर नाराजुलुस लगाउँदै हातपात, लछारपछार पार्ने र कालोमोसो दल्ने काम गरियो ।’ यता नो केबलकार समूहबाट प्रतिनिधित्व गरेका नागरिक उन्मुक्ति पार्टीका नेता अमर इजमले फोनमा भनेका थिए, ‘कालोमोसो कसले दल्यो थाहै भएन । केटाहरू गुरुरु आएका थिए । आक्रोसित भीडले के के ग¥यो ।’ उनले कालोमोसो दल्ने काम चाहिँ गलतै भएको ब्लाष्टकर्मीलाई फोनसम्पर्कमा बताएका थिए ।
पीडित माबोले सामाजिक सञ्जाल फेसबुकमा केबलकार बन्नुपर्ने धारणा राख्दै आइरहेका थिए । उक्त धारणामाथि नो केबलकार समूहले प्रतीकात्मकरूपमा विरोध गर्दै आएको थियो । उनीहरूले लेखेको स्ट्याटसमाथि गलत कमेन्ट गर्दै आएको आरोप उनीहरूको छ । तर, माबोले भने आफूले आफ्नो व्यक्तिगत धारणा व्यक्त गर्दा त्यसविरुद्ध प्रतिकार गरिनु गलत भएको बताएका थिए । माबोविरुद्ध ‘वंश गद्दार’ को नारा पनि लागेको थियो ।
यता आइतबारको घटनालाई लिएर मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिसहित १२ वटा संस्था तथा ९ वटा राजनीतिक दलले सोमबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै माबोको गतिविधि मुक्कुमलुङ विरुद्धमा हुँदै आएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नो केबलकार पक्षधरहरूमाथि नानाभाँती आरोप र मिथ्या लाञ्छना लगाउँदै आएको, किरात धार्मिक गुरु र आस्थावान् सिङ्गो समुदायमाथि अपाच्य, अशोभनीय र अपमानित शब्द प्रयोग गर्दै आएका छन् । पवित्र मुन्धुमस्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबुङ सम्पदामाथि अतिक्रमण हुँदा प्रतिरोध गर्नुपर्नेमा उल्टै अतिक्रमणकारीहरूबाट हामीमाथि हतियारको रूपमा उनी प्रयोग भएका छन् ।’ समितिले लोकतन्त्रमा आफ्नो विचार अभिव्यक्ति राख्न पाइने स्वतन्त्रता सबैलाई भए पनि मुन्धुम, सामाजिक मूल्य, मान्यता र सीमाहरू हुने उल्लेख गरिएको छ । आन्दोलनरत १२ वटा संस्थाहरूले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै राज्यले मध्यरातमा किरात याक्थुङ चुम्लुङ सुनसरीको कार्यालय घेराउ गरी आतङ्कित पारेको भन्दै विरोध जनाएको छ भने आन्दोलनको कार्यक्रम यथावत् रहेको पनि जनाएको छ ।