बिर्तामोड । यसै महिनादेखि सुरु हुन लागेको बी डिभिजन लिगमा सहभागी हुन लागेको झापा–११ क्लबले भद्रपुरमा जारी झापा गोल्ड कपमा विजयी सुरुवात गरेको छ । झापाले ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रमाथि १–० गोलको जित निकाल्दै क्वार्टर फाइनमा स्थान सुरक्षित गरेको हो ।

झापाले इटहरी गोल्डकप र पाँचथरको फाल्गुनन्द गोल्डकपमा मच्छिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए  । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा लिग विजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि थप गोल भने हुन सकेन । खेलको २१ औँ मिनेटमा पेनाल्टी एरियामा अनमार्क रहेका झापाका स्ट्राइकर बोहोराले पाएको अवसर खेर फाले । ६२ औँ मिनेटमा काउन्टर अट्याक गरेका झापाका हरिबहादुर आले मगरको पावरफुल प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गरे । खेलको ७८ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलकिपर श्रेष्ठले रोके । ८० औँ मिनेटमा एलन थापाले गोल गर्न नसक्दा झापाले अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

मच्छिन्द्रले खेलको २० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । सनिस श्रेष्ठको कर्नर प्रहारमा विदेशी खेलाडी ओमोलाजा करिमको हेडर पोष्टमा लागेर फर्कियो । ३८ औँ मिनेटमा सौरभ लिम्बूको कडा प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरे । ८१ औँ मिनेटमा अविषेक गुरुङ, दयानन्द सिंह र सनिस श्रेष्ठले पेनाल्टी एरियामा पाएको अवसर गुमाए । ८६ औँ मिनेटमा आदित्य शाक्यको प्रहार बारमा लागेर फर्किंदा मच्छिन्द्र निराश बनेको थियो ।

खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर सन्दिप लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वाेत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदयीमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।