बिर्तामोड । विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक भद्रपुर ‘भद्रपुर झापा गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा शुक्रबार भएको प्रतियोगितामा आयोजकले बलियो प्रतिद्वन्द्वी मानिएको पुलिसलाई पराजित गर्दै अघिल्लो चरणको लागि स्थान पक्का ग¥यो ।

आयोजक भद्रपुरका लागि खेलको ७२ औं मिनेटमा स्ट्राइकर मिलन राईले पहिलो गोल गरे । कप्तान आशिष चापागाईंले पेनाल्टी एरियामा मिलाइदिएको क्रस पासलाई अनमार्क रहेका राईले गोलमा परिणत गरे । खेलको ७४ औं मिनेटमा मिलन राईले नै दोस्रो गोल गर्न सफल भए । पुलिसका डिफेण्डर मानबहादुर परियारले आशिष चापागाईंलाई पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यो अवसरलाई राईले सदुपयोग गर्दै भद्रपुरको अग्रता २–० बनाए । निर्धारित ९० मिनेट २–० को अग्रता बनाएको भद्रपुरले इन्ज्युरी समयमा १ गोल खायो । इन्ज्युरी समयको दोस्रो मिनेटमा पुलिसले सान्त्वना एक गोल फर्कायो । भद्रपुरका गोल किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।

भद्रपुरले खेलमा केही अवसरहरू गुमायो । खेलको ४० औँ मिनेटमा पेनाल्टी एरियाबाट मिलन राईले प्रहार गरेको बल बारमा लागेर फर्कियो । खेलको ४५ औँ  पुलिसका गोलकिपर अमित टमाटा बिट भएपछि मिलन राईको प्रहार गोललाइनमा पुलिसका हेमन्त श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको अतिरिक्त समयमा विदेशी खेलाडी फोडे फोफोनाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पुलिसका किपर टमाटाले रोके । खेलको ५४ औँ मिनेटमा पुलिसका अनुप लिम्बूको हेडर भद्रपुरका किपर शेखले पञ्च गरे । कृष्ण गुरुङको क्रस पासमा पेनाल्टी एरियाबाट लिम्बूले हेड गरेका थिए । खेलको प्लेयर अफ द म्याच दुई गोलकर्ता मिलन राई भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफमा रणनीति अपनाएर पुलिसमाथि जित दर्ता गरेको बताए । घरेलु टिम र दर्शकका साथका कारण खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो । पुलिसका प्रशिक्षक सुमन सुवेदीले खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि डिफेन्समा चुक्दा हार बेहोर्नु परेको बताए । जित्ने योजनाका साथ मैदानमा उत्रिए पनि सानो गल्तीले चुकेको उनको भनाइ थियो । शनिबारको दोस्रो क्वार्टरफाइनल खेल झापा ११ एफसी र चर्च ब्वाइज युनाइटेडबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए । मच्छिन्द्रलाई हराउँदै झापा क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।