भद्रपुर । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ ।

भद्रपुरस्थित मेची रङ्गशालामा सोमबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।  

खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो ।

त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । खेलको ३६ औँ मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे । खेलको ५९ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई २–१ मा ल्याए ।

मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए । खेलको ६३ औँ मिनेटमा भुटानले ३–१ को अग्रता बनायो । एपिएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे । दुईजना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले खेललाई ३–२ पुर्यायो । भुटानका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे ।

खेलको २५ औँ मिनेटमा भुटानका लाक्पा पाख्रिनले अवसर गुमाएका थिए । एपिएफका डिफेन्सले बल पोजिसन गुमाउँदा अगाडि लगेको बल पाख्रिनले विपक्षी गोलकिपर अञ्जल श्रेष्ठसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेन । खेलको ७० औँ मिनेटमा भुटानका हेमराज भुजेलले पेनाल्टी एरिया नजिकैबाट गरेको कडा प्रहार एपिएफका गोलकिपर श्रेष्ठले पञ्च गरेर बचाए ।

खेलको ४३ औँ मिनेटमा एपिएफका मणिकुमार लामाको प्रहारमा युवराज खड्काको हेडर बाहिरियो । खेलको ६१ औँ मिनेटमा अनिश महर्जन भुटानका गोलकिपर फुन्सो जिग्मेसँग वान टु वानको अवस्थामा पनि गोल गर्न सकेनन् ।

खेलको ८४ औँ मिनेटमा मणिकुमार लामाको फ्रिकिक प्रहारमा पेनाल्टी एरियाबाट सुमन श्रेष्ठले हेड गरेको बललाई भुटानका गोलकिपर रुपकले पञ्च गरेर बचाए । खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेलले भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो सेमिफाइनल खेल आयोजजको भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच हुन आयोजकले जनाएको छ ।