धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा सहकार्य गर्ने भएको छ ।  

बुधबार काठमाडौँमा आयोजित विशेष समारोहमा प्रतिष्ठानका तर्फबाट उपकुलपति विक्रमप्रसाद श्रेष्ठ र तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइतले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झदारीपत्र अनुसार दुवै संस्थाबीच शिक्षक तथा विद्यार्थी आदान–प्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार, कन्टिन्यू मेडिकल एजुकेसन कार्यक्रम सञ्चालन तथा आँखा उपचारका क्षेत्रमा संयुक्त अध्ययन–अनुसन्धान गरिने प्रतिष्ठानले जनाएको छ ।

यो सहकार्यले दुवै संस्थाको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुनुका साथै आम नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।