विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित आँपगाछी चोकबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी तथा चेकजाँच बढाएको थियो। सोही क्रममा शंकास्पद अवस्थामा रहेका इटहरी–१ का १९ वर्षीय राजेश श्रेष्ठ, ४६ वर्षीया ज्ञानी चौधरी र ३० वर्षीय मुकेश चौधरीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ०।८६ ग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले लागूऔषधको स्रोत, कारोबार तथा घटनामा अन्य व्यक्तिको संलग्नता भएरनभएको विषयमा समेत थप अनुसन्धान गरिरहेको जनाएको छ।