धरान / पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भएपछि सप्तसप्तकोशीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव उच्च् भएपछि सप्तकोशी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरीले जानकारी दिएको छ ।मंगलबार सप्तकोशी नदीमा पानीको बहाव प्रतिसकेण्ड एक लाख ४० हजार ७० क्यूसेक पुगेको थियो भने बुधवार पानीको बहाव प्रतिसकेण्ड एक लाख ८१ हजार ४ सय ६० पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोशीमा पानीको बहाव उच्च भएपनि सप्तकोशी ब्यारेजका ५६ ढोका मध्ये २७ वटा मात्रै ढोका खोलिएका छन् । सामान्यतया १ लाख ५० हजार क्युसेक पानीको बहाव कटेपछि खतरापुर्ण मानिन्छ । २०६५ साल भदौ ५ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको समयमा पानीको बहाव प्रति सकेण्ड एक लाख ६८ हजार क्युसेक पुगेको थियो । यसैविच सुरक्षा प्रमुखहरुले सप्तकोशीको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईँ , प्रहरी उपरीक्षक पोषराज पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख नगेन्द्र दाहाल, सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्का र सेनाका कर्णेल सुलभ खड्का लगायतले स्थलगत निरीक्षण गरेका हुन् ।