धनकुटा/आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार गरेर निको भएका जिल्लाकै खोकु–१ घर बताउने भक्तबहादुरको बिराम त निको भयो तर अब कता जाने अलपत्र परेको बताउँछन् । जिल्ला अस्पतालको आकस्मिक कक्षमा बाबुलाई पु¥याएका गोविन्दलाई औषधि ल्याउन डाक्टरले भनेपछि बेपत्ता भएका एक हप्तासम्म नफर्केपछि भक्तबहादुर अलपत्र परेका छन् । बाबुछोराबाहेक घरमा कोही नभएपछि बाहिरबाहिर कमाएर खाने बाबुछोरा आर्थिक समस्या परेका कारण भागेका हुनसक्ने चिकित्सकको अनुमान रहेको छ । खोकु–१ मा आठ रोपनी जग्गा भए पनि घर नभएको जग्गा बाँझो भएका कारण घर छोडेको चार वर्ष भएको भक्तबहादुरले बताए । चार वर्षअघि श्रीमतीको मृत्यु भएपछि हिँडेका भक्तबहादुर १० वर्षभित्र आमाबाबुसहित दाजुभाइ, छोराछोरीसहित १५ जनाको काजक्रिया गरेर सम्पत्तिको नाममा आठ रोपनी जग्गा मात्र बाँकी रहेको बताउँछन् । छातीमा समस्या देखिएका भक्तबहादुरको दमको बिमार भएको स्याहार र हेरचाहमा रहनुभएको स्टाफ नर्स एन्जल लिम्बूले बताए । उनले भने, “हामीले अस्पतालका तर्फबाट नै उपचार गरेका हौँ, निःशुल्क एवम् अस्पतालमा बाहेक बाहिरबाट औषधि ल्याएर बचायौँ तर डिस्चार्ज लिने मान्छे नभएर उहाँलाई अस्पतालमा राख्नुपरेको छ । बिरामी बाबु छोडेर भागेका छोरालाई पटकपटक फोन गर्यौँ तर सम्पर्क नै हुँदैन, उहाँ त अलपत्र नै हो, हामीले के गर्ने निर्णय गर्न सकेका छैनौँ ।” ६७ वर्ष पुगेका भक्तबहादुर आफू दलित भएका कारण वृद्धभत्ता पाइने कुरा समेत थाहा नभएको र नागरिकतासमेत हराएको कारण राज्यले दिने सुविधासमेत नभएको बताउँछन् । “छोरा के गर्छ, कता जान्छ, केही थाहा छैन, बिरामी भएको खबर पाएर मलाई यहाँसम्म छोडेर कता गयो थाहा छैन, पैसा थिएन होला, लाज भयो, भाग्यो होला”, सार्कीले भने । बाँसको चोयाबाट डोको बुन्ने सीपका कारण जीविका चलाएको बताउने भक्तबहादुर उमेर ढल्कँदै गएका कारण अब कसरी छाक टार्ने समस्या भएको बताउँछन् । परिवारका नाममा एउटा छोरो त्यो पनि साथमा नहुँदा बुढेसकालमा के गर्ने ठूलो समस्या भएको उनी बताउँछन् । भन्छन्, “अझै दुईचार वर्ष त केही गर्न सकिएला, ओछ्यान नै परेपछि त खै के गर्ने, दिनरात निन्द्रा हराएको छ ।” रासस -