धरान /बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त विभागमा म्याद नाघेको ‘मासु लट्याउन प्रयोग गरिने स्प्रे’ फेला परेको छ । झण्डै पाँच महिना म्याद कटिसकेका ‘एलए नामक स्प्रे’ उपचारका लागि दन्त विभागका पुगेका एक बिरामीले फेला पारेका थिए । विभागको प्रोस्थोडोन्टिक्सको ३ नम्बर वार्डमा उक्त स्प्रे फेला परेको थियो ।
तीन वटा स्प्रेको फरक–फरक मिति उल्लेख छ । सन् २०१३ उत्पादन मिति लेखिएको स्प्रेमा २०१६ को मे, जुन र जुलाई महिना म्याद सकिने उल्लेख छ । त्यहाँ कार्यरत डाक्टरहरुका अनुसार उक्त स्प्रे बच्चा विभागमा बढी प्रयोगमा आउने गरेको डा. नविन अग्रवालले बताए । उक्त स्प्रे मासु लट्याउने इन्जेक्सन प्रयोग गर्नुपूर्व मासुको बाहिरी भागमा लगाइने चिकित्सकहरु बताउँछन् । उक्त स्पे्र लगाइसकेपछि मात्रै इन्जेक्सन प्रयोगमा ल्याउने डा. अग्रवालले बताए । बच्चा विभागमा प्रयोग हुने औषधि कसरी यहाँ आइपुग्यो भन्दै चिकित्सकहरु नै अचम्मित परेका थिए । तर, तीनवटा फरक फरक स्थानमा राखेको अवस्थामा उक्त स्प्रे फेला परेको थियो । तर, केही चिकित्सकहरुले भने विद्यार्थीहरुलाई ‘प्रदर्शन’ को लागि देखाउनसमेत उक्त स्प्रे ल्याइएको हुन सक्ने बताए ।
दाँतको उपचारका लागि पुगेका धरान–४ का अनुभव रेग्मीले अर्को बिरामीलाई लगाइदिएको देखेपछि के रहेछ भनेर चेक गर्दै जाँदा मिति नाघेको फेला पारेको बताए । उनले भने, ‘अर्को बिरामीलाई लगाइदिएको देखेँ । अनी के रहेछ भनेर हेर्दैजाँदा नै म्याद नाघेको फेला पारेँँ ।’ बीपी अस्पतालमा म्याद नाघेको औषधि फेला पारेपछि उनले इलाका प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए । मौखिक जानकारीको आधारमा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जानकारी गराएको थियो । जिल्ला प्रशासनबाट इलाका प्रशासनलाई उक्त सामग्रीहरु बरामद् गर्नको लागि निर्देशन जारी गरेको थियो । निर्देशन पाए लगत्तै इप्रका धरानका निमित्त प्रमुख जयराम श्रेष्ठको नेतृत्वमा टोली बीपीको दन्त विभागमा पुगेर सामग्री बरामद् गरेको छ ।
र, उक्त बरामद् सामग्रीको मुचुल्का समेत तयार पारेको छ । प्रमुख श्रेष्ठले भने, ‘दशैंले गर्दा कार्यालय बन्द भएको अवस्था छ । शुक्रबार जिल्ला प्रशासन खुलेपछि बरामद भएको सामग्री र कागजात जिल्ला पठाउँछौं ।’उनले जिल्ला प्रशासनले नै बरामद् सामग्रीहरु चेकजाँच गरेर कारबाही अघि बढाउने बताए । औषधि भएकाले औषधि व्यवस्था विभागको जिम्मेवारी भित्र पर्छ । बीपी जस्तो ठूलो अस्पतालहरुमा म्याद नाघेको औषधि प्रयोग गरेको पाइनु आफैमा गैरजिम्मेवार हुने कर्मचारीहरु बताउँछन् । र, औषधि व्यवस्था विभागकोसमेत यसमा गम्भिर ध्यानाकर्षण नभएको यो घटनाले पुष्टी गर्ने प्रमुख श्रेष्ठले बताए ।