बागलुङ/विद्यालय पुनःनिर्माणका लागि शिक्षक, कर्मचारीले आफ्नो तलब कटाएर सहयोग गरेका छन् । यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीले रु १२ लाख ५० हजार सहयोग जुटाएका हुन् । सबैले आआफ्नो हैसियतमा आर्थिक सहयोग उपलब्ध गराएको विद्यालयले जनाएको छ । विद्यालय पुनःनिर्माणको उद्देश्यले सुरु भएको धान्याचल महायज्ञको अवसर पारेर सो सहयोग प्रदान गरिएको विद्यालयका प्राचार्य जगन्नाथ आचार्यले बताए । गत वर्षको भूकम्पले जीर्ण बनाएको विद्यालय भवन पुनःनिर्माणको लागि गत बुधबारदेखि महायज्ञ सुरु भएको छ । “आफूले सेवा गरिरहेको विद्यालयको भवन निर्माणको लागि शिक्षक, कर्मचारीले आआफ्नो तलब कटाएर सहयोग गर्नुभएको छ” प्राचार्य आचार्यले भने । भवनको एउटा कोठा निर्माणका लागि आवश्यक पर्ने रु १२ लाख ५० हजार विद्यालय परिवारलेनै उपलब्ध गराएको हो । विद्यालयले सुविधा सम्पन्न २५ कोठे भवन निर्माणको काम सुरु गरेको छ । भवनकै लागि आर्थिक सहायता जुटाउन लगाइएको महायज्ञका क्रममा २५ भन्दा बढी दाताले एक÷एक कोठा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । महायज्ञका महासचिव समेत रहेका आचार्यका अनुसार महायज्ञको तेस्रो दिनसम्ममा रु चार करोड बढी रकम सङ्कलन भइसकेको छ । विद्यालयका पूर्व विद्यार्थी, उद्योगी, व्यवसायी, शुभेच्छुकलगायतले एउटा कोठा निर्माणका लागि चाहिने रु १२ लाख ५० हजार सहयोग गरेका हुन् । आगामी १० गतेसम्म चल्ने महायज्ञमा रु १० करोड बढी रकम उठ्ने अपेक्षा गरिएको छ । इतिहास बोकेको विद्यालयको चौतर्फी विकासको लागि सहयोग गरेको दाताले प्रतिक्रिया दिएका छन् । आफ्ना स्व हजुरबुबा/हजुरआमा/बुबा/आमालगायतको स्मृतिमा परिवारका सदस्यले सो रकम विद्यालयलाई प्रदान गरेका हुन् । विद्यालयको नयाँ भवनमा कोठाको नामाकरण दाताकै नामबाट गरिने जनाइएको छ ।  १२ लाख ५० हजारभन्दा माथिको सहयोग गर्ने दाताको नामबाट कोठाको नामाकरण गर्ने व्यवस्था गरिएको छ । यसरी, सिङ्गै कोठा निर्माणको लागि सहयोग गर्नेमा महायज्ञका अध्यक्ष एवम् बागलुङ निवासी लालचन्द्र राजभण्डारी, बागलुङ घर भई हाल अमेरिका रहेका जयप्रकाश श्रेष्ठ रहेका छन् । यसैगरी, विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक÷कर्मचारी, विद्यालयका संस्थापक ओमप्रसाद गौचनका छोरा ओमकारप्रसाद गौचन, बागलुङ घर भई हाल अमेरिका रहनुभएका हीरालाल गौतम रहनुभएको छ । देशकै पुरानोमध्येमा पर्ने विद्यामन्दिर माध्यमिक विद्यालय विसं १९९७ मा स्थापना भएको हो । रासस