धरान/कलाकार किशोर सम्बाहाम्फेद्वारा निर्मित नेपाली चलचित्र ‘पार्सल’ शुक्रबारबाट देशभरका हलमा प्रर्दशनमा आएको छ । parcel-poster लाहुरेले पठाएको पार्सल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साटिएपछिको निर्माण भएको कथा पटकथाहरु फिल्ममा देख्न सकिन्छ । फिल्मको प्रचारको लागि निर्माण युनिटले शुक्रबार धरानको गणेश टाकिज हलबाट नगर परिक्रमा गर्दै फिल्म हेर्नको लागि सबैलाई आग्रह गरिएको छ । निर्माण युनिटले मोटरसाइकल र्याली निकाल्दै फिल्मको प्रचार गरेको कलाकार हिमाल दाहाले बताए । रविन श्रेष्ठको डेब्यु निर्देशन रहेको यो फिल्म पूर्वको रमणीय पर्यटकीय स्थलहरुमा छायांकन गरिएको छ । काठमाडौंदेखि पूर्वको ताप्लेजुङसम्मको पर्यटकीय स्थलहरुको दृष्य फिल्ममा कैद गरिएको छ । फिल्ममा किशोर खतिवडा, निता ढुङ्गानाका अलवा डेब्यु कलाकारहरुको बाहुल्यता रहेको छ । पूर्वका कलाकारहरुको बाहुल्यता रहेको फिल्मको लेखन प्रभु श्रेष्ठले गरेका हुन् । फिल्ममा नायक रुपमा उनले डेब्यु गरेका छन् । फिल्ममा सिर्जना फागो लिम्बू, किशोर सम्बाहाम्फे, प्रेशिका निरौला, बिक्रम सिंह, सोनु जयन्तीलगायतका कलाकारहरु रहेका छन् । रोश्नी फिल्मको ब्यानरमा निर्मित फिल्म देशभरका ७० वटा हलहरुमा प्रदर्शन भइरहेको निर्माता किशोर सम्बाहाम्फेले जानकारी दिए । पूर्वका कलाकार तथा पूर्वकै अधिकांस भागमा छायांकन गरिएकाले सबै पूर्वेली तथा देशभरका दर्शकहरुलाई फिल्म हेरिदिन उनले आग्रह गरेका छन् ।