विजयपुर / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा नेपालकै आधुनिक क्याथ ल्याब शुरु भएको छ । क्याथ ल्याब शुरु भएपछि अब मुटु तथा नशाका बिरामीहरुको उपचारमा सहजता हुने प्रतिष्ठानले जनाएको छ । यसअघि दाताको सहयोगमा आएको क्याथ ल्याब डा. निकेश श्रेष्ठले प्रतिष्ठान छाडेपछि सञ्चालनमा आएको थिएन । अहिले ल्याइएको होल्याण्डको फिलिप्स कम्पनीको अत्याधुनिक मेसिन नेपाल सरकारको ८ करोड सहयोगमा ल्याइएको हो । यो मेसिनले कम विकिरण छर्ने भएकाले बिरामी र चिकित्सक तथा प्राविधिकहरूसमेत सुरक्षित हुने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरानो मेसिनबाट गर्भवती महिला र बालबालिकाको उपचार गर्न निकै समस्या परेको थियो । ‘यो मेसिन सबैका लागि सुरक्षित भएको चिकित्सकहरुको भनाइ छ । अब प्रतिष्ठानमा हृदयाघातको उपचार, पेसमेकर लगाउने तथा बन्द नशा खुलाउनेलगायतका उपचार २४ सै घण्टा सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति प्राडा बीपी दासले बताए । उपकुलपति दासले नै सोमबार क्याथल्याबको औपचारिक उद्घाटन गरेका थिए । क्याथ ल्याबको उद्घाटन गर्दैै उनले प्रतिष्ठानमा अब सबै खाले रोगहरुको उपचार हुने दावी गरे । क्याथ ल्याबको यो मेसिन नेपालकै पहिलो अत्याधुनिक भएको दावी गरिएको छ ।