निर्माता छविराज ओझाकी श्रीमती भएर एउटै घरको छतमुनी १० बर्ष विताएकी नायिका रेखा थापा अहिले एक्लो जीवन विताइरहेकी छिन् । निर्माता छविराज ओझासँग डिभोर्स गरेपछि अहिले उनी आफ्नो फिल्मी करियरलाई नै श्रीमान मान्दै आइरहेको बताउँछिन् ।
छविराजसँग डिभोर्स गरेपछि पछिल्लो समय मिडियाहरुमा खोजे जस्तो केटा नभेटेका कारण विवाह नगरेको बताउँदै आएकी रेखाको चलचित्र ‘हिम्मतवाली’ रिलिजताका नायक सुदर्शन गौतमसँग माया बसेको हल्ला खुबै चलेको थियो तर चलचित्र रिलिज भएसँगै त्यो प्रेम हल्लामा मात्र सिमित रह्यो । आफ्नो चलचित्र चलाउनका लागि को-स्टारसँग अफेयरको हल्ला चलाउन समेत पछाडी नहट्ने रेखा रियल लाइफमा कहिले बेहुली बन्छिन् होला त्यसको प्रतिक्षा दर्शकहरुलाई मात्र होइन रेखा स्वयमलाई पनि छ ।
रेखाले यो बारम्बार भन्दै आइरहेकी छिन् कि उनी रियल लाईफमा बेहुली बन्न चाहन्छिन् । तर, उनको सपना रियलमा पुरा नभएपनि रिलमा भने दर्शकहरुले रेखा बेहुली बनेको चाँडै हेर्न पाउने भएका छन् । दोश्रो सेड्यूलमा छायांकन भैरहेको चलचित्र ‘हिरो रिटन्र्स’मा रेखा र नायक दिल श्रेष्ठले बिहे गरेका छन् । रेखा सोमबार उत्तरबाहिनी मन्दिरमा बेहुलीको भेषमा थिइन भने बेहुलाको भेषमा नायक दिल श्रेष्ठ थिए । तस्बीरमा पनि देख्न सकिन्छ कि दुलहा बनेका दिल र दुलही बनेकी रेखाको ओठमा मुस्कान छल्किएको । सविन श्रेष्ठको निर्माण रहेको यो चलचित्रमा उनी पनि मुख्य भूमिकामा छन् ।