धरान/ पूर्वाञ्चलव्यापी गायन प्रतियोगिता पूर्वाञ्चल स्टार–२ को उपाधि तेह्रथुमका दिलेनबाबु लिम्बूले जितेका छन् । टप–१० मा छानिएका प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । युवा गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले शनिबार धरान सभागृहमा सम्पन्न फाइनलमा उनी प्रथम घोषित हँुदै उपाधि बिजेता बनेका हुन् । विभिन्न चरण पार गर्दै उत्कृष्ट १० मा छनौट हुन सफल बनेका उनले फाइनलमा चर्चित गायक मिङ्मा शेर्पाको तिम्रो त्यो हँसिलो मुहारको...बोलको गीत गाएका थिए । मिठो स्वरका धनी लिम्बूको प्रस्तुतिले मुख्य निर्णायक लोकगायक बालकृष्ण कार्की र गायक एवं सङ्गीतकार विशाल राई साथै हलमा उपस्थित स्रोताहरुको मन जित्न सफल भएका थिए । यसैगरी, प्रतियोगितामा सुनसरीकी आष्मा अधिकारी दोस्रो भइन् भने झापाका ब्रायन लिम्बू तेस्रो भए । अधिकारीले फाइनलमा चौबन्दीमा पटुकी...बोलको गीत गाएकी थिइन् भने लिम्बूले तिमी ज्यान माग ज्यान माग...बोलको गीत गाएकी थिए । प्रतियोगितामा इलामका सुमन थेवेले वेष्ट पर्फमेन्स, मोरङका सुरेश धिमालले बेष्ट पब्लिक च्वाइस, इलामका दीपक घिमिरेले बेष्ट डिसिप्लिनमा, मोरङका मिलन परियारले बेष्ट भोकलको अवार्ड हात पारे ।

उपाधि बिजेता लिम्बूले टप टेनमा पर्न सफल सबै प्रतिस्पर्धीहरु राम्रो गाउने भएकोले आफू केही हुन्छु भन्ने लागेको बताए । ‘सबै एकसे एक थियौं, त्यसैले मै पहिलो हुन्छु भन्ने थिएन । तर, उपाधि जित्न पाउँदा ज्यादै खुशी छुँ’ उनले भने । उपाधि बिजेता लिम्बूले नगद ५० हजारसँगै ट्रफी, २ वटा गीत रेकर्ड र एउटा म्युजिक भिडियो बनाउने अवसर प्राप्त गरे भने एक वर्षसम्म निःशुल्क सङ्गीत प्रशिक्षण पनि पाए । यस्तै, दोस्रो भएकी अधिकारीले नगद २५ हजार, ट्रफी, एउटा गीत रेडर्क र ६ महिना सङ्गीत प्रशिक्षणको अवसर पाएकी छिन् भने तेस्रो भएका लिम्बूले नगद १५ हजार, ट्रफीसँगै एउटा गीत रेकर्ड र ३ महिना सङ्गीत प्रशिक्षणको अवसर प्राप्त गरे । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एलपी जोशी, विशेष अतिथि ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, युएन कलेजका प्रमुख डम्बरकुमार तुम्वापो, एम्स एकेडेमीका डाइरेक्टर मिलन राई, स्काइसप धरानका सञ्चालक सुमन श्रेष्ठ, संयोजक भक्तिराज राईलगायतले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा चर्चित गायिका मेलिना राई, धनकुटाकी गायिका हेमु स्मृति चोङवाङ, सिजन–२ की बिजेता प्रकृति थलङ, सिजन–३ का बिजेता सिर्जना तामाङ, दोस्रो बनेका ठाकुरमान योगी र तेस्रो बनेका विकास राई, संयोजक राईलगायतले गीत प्रस्तुत गरेका थिए । पूर्वाञ्चल बागिना कला केन्द्रद्वारा आयोजित गायन प्रतियोगिताको अडिशन पूर्वका विभिन्न १४ जिल्लामा भएको थियो । कार्यक्रममा हाम्रो डान्स सेन्टरका कलाकार नृत्य पस्केर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । तिरुमल्ली सेलसेल होलसेल पसल धरानका प्रोप्राइटर राजु मण्डल, पाथिभरा गजलका लक्ष्मी केसी, थकाली किचन एण्ड फाष्टफुडका अशुष राई, धरान स्टिल फेब्रिकेटरका सञ्चालक मोहन मगर, पखुवा ज्वेलरीका प्रोप्राइटर राजकुमार विक, पूर्वाञ्चल सङ्गीत विद्यालयका केशव कार्की, दृश्य दर्शन प्रोडक्सन इटहरीका निर्देशन प्रकाश सुब्बा, रमेश ग्रिल उद्योग धरानका रमेश राईलगायतको उपस्थिति थियो । यस्तै, हेन्जिली लिम्बू र नवोदयकी छात्रा मुना लिम्बूले एकल नृत्य पस्के । कार्यक्रमको सञ्चालन दन्तकाली एफएमका तिर्थ कार्की र शिक्षा भट्टराईले गरेका थिए ।

ब्लाष्टकर्मी जोगीसहित तीन पत्रकार सम्मानित

स्टारका लागि सहयोग पु¥याएको भन्दै ब्लाष्टकर्मी शेखरनाथ जोगीसहित तीनजना पत्रकारलाई सम्मान आयोजकले सम्मान गरेको छ । यस्तै, नागरिक दैनिकका धरान संवाददाता रोहित राई, तेह्रथुम संवाददाता भगिश्वर लिम्बूलाई पनि सम्मान गरिएको छ । चौथोे चरणसम्म आइपुग्दा पत्रकारिता क्षेत्रको माध्यमबाट अतुलनीय सहयोग पु¥याएको भन्दै सम्मानपत्र र जनही नगद ५ हजार ५१ रुपैयाँसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एलपी जोशी, विशेष अतिथि ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, युएन कलेजका प्रमुख डम्बरकुमार तुम्वापो, एम्स एकेडेमीका डाइरेक्टर मिलन राई, स्काइसप धरानका सञ्चालक सुमन श्रेष्ठ, संयोजक भक्तिराज राईलगायतले खादा र सम्मानपत्र प्रदान गरेका थिए ।