हास्यटेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘तक्मे बुढा’ को भूमिका निर्वाहा गरेपछि रातारात चर्चित बनेका विल्सन विक्रम राईले केही दिन अगाडी मात्र आफ्नो डेब्यू बलीउड चलचित्रको छायाँकन सकाए । नाम गोप्य राखिएको यो चलचित्रमा विल्सनले सलमान खान स्टार चलचित्र ‘वान्टेड’ मा ‘जान्हवी’ को भूमिका निर्वाहा गरेकी अभिनेत्री आयशा टाकियासँग स्क्रिन शेयर गरेका छन् ।
१५ सिनका लागि अनुबन्धित भएका विल्सनले प्रत्येक सीन आयशासँग मात्र दिएका छन् भने उनले प्रत्येक सीनमा ढाकाटोपी लगाएका छन् । विल्सनले आफ्नो सीन सकाएर नेपाल फर्किसकेका छन् । यसैबीच नायिका आयशा टाकियाले विल्सनसँग खिचिएको एक तश्वीर हालैमा आफ्नो इंस्टाग्राममा शेयर गरेकी छिन् । तश्वीरमा विल्सन विक्रम राई ‘चाइनिज बाबा’ बनेको देख्न सकिन्छ । आयशाले ‘विल्सनसँग’ भनेर तश्वीरसँगै क्याप्सन लेखेकी छिन् । अहिले यो चलचित्रको भारतमा धमाधम छायाँकन भइरहेको छ ।
यो चलचित्रमा आयशा र विल्सनसँगै मराठी नायिका सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।