जमाना फेरियो । कुनै समय ‘न्याय नपाए गोरखा जानु’ भनिन्थ्यो अहिले न्याय नपाए फेसबुक वा ट्विटरमा खोले मात्र पुग्छ । सामाजिक सञ्जालबाटै कयौं रातारात चर्चामा आए त कयौंलाई विल्लिबाठ समेत बनायो । अहिलेको समयमा सायद कोही अछुतो छैन होला जसले सामाजिक सञ्जाल प्रयोग नगरेको होस् । यो नेपालमा मात्र होइन विश्वको कुनै कुना पनि इन्टरनेटको सामाजिक सञ्जालबाट अछुतो छैन । नेपालकै कुरा गर्ने हो भने अर्चना पनेरु देखी तरकारीवाली कुशुम श्रेष्ठसम्मलाई फेसबुकले नै चर्चित बनायो । कोही सामाजिक सञ्जाललाई सही सदुपयोग गर्छन त कोही यसैबाट गलत कामहरु पनि गरिरहेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी प्रभावकारी मानिएको फेसबुक पेज खोलेर आफ्नो लोकप्रियता बढाउनेतिर राजनीतिज्ञ देखी सेलिब्रेटीहरु पनि पछाडी छैनन् । आफ्नो मन पर्ने नेता देखी पर्दामा देखेको कलाकारको विचार र तश्वीर हेर्नका लागि उनीहरुका प्रशंसकहरुहरु अहिले फेसबुकमा नै खोजिरहन्छन् । यसले गर्दा पनि हो पछिल्लो समय नेपालका सेलिब्रेटीहरु पनि फेसबुकमा निकै सक्रिय देखिन्छन् । कहिले लाइभ, कहिले आफ्ना विचार, कहिले फिल्मको प्रमोशन त कहिले आफ्नै तश्वीरहरु पोष्ट गर्न भ्याई नभ्याई हुने ५ नेपाली नायिकाहरुको विषयमा आज हामी कुरा गर्दैछौं, जसका फेसबुकमा सर्वाधिक फ्यान छन् ।

रेखा थापा

सिंगल हलको बादशाह मानिन्छ रेखा थापालाई । नेपाली सिनेवृतमा उनको जति चर्चा हुन्छ सायद त्यो अरु कुनै नायिकाहरुको हुँदैन । बजारमा यो भन्ने गरिन्छ कि विवाद र रेखा थापा एकअर्काका परिपूरक हुन । न कहिले विवादले रेखालाई छोड्छ न रेखाले विवादलाई । यी त थिए बजारका हल्ला । तर, सामाजिक सञ्जालमा नेपालका अन्य कलाकारहरु भन्दा सर्वाधिक फ्यान फलोइङ भएकी नायिकामा पर्छिन रेखा थापा । उनको जति फेसबुकमा लाइक छ, त्यति नेपालका अन्य कुनै पनि सेलिब्रेटीको छैन । उनको एक व्यक्तिगत फेसबुक एकाउण्ट छ भने अर्को ३१ लाख ५ हजार ६ सय ३८ जनाले लाइक गरेको फेसबुक पेज छ । उनको नाममा दुई दर्जन बढी फेक एकाउण्ट खोलिएका छन् । उनको नाममा खोलिएका कति फेक फेसबुक पेजमा त १ लाख सम्म लाइक छन् । यसले रेखा थापाको व्यक्ति प्रभाव कत्तिको रहेछ भन्ने जनाउँदछ ।

प्रियंका कार्की

नायिका रेखा थापापछि दोस्रो नम्बरमा पर्छिन प्रियंका कार्की । पछिल्लो समय उनलाई सबैभन्दा चर्चा र विवादमा रहने नायिकाको रुपमा पनि चिनिने गरिन्छ । अभिनयभन्दा बढी पहिरनको चर्चाले मिडियामा आइरहने प्रियंकाको एउटा आफ्नै फेसबुक एकाउण्ट छ भने अर्को १८ लाख ६ हजार १ सय ५७ जनाले लाइक गरेको फेसबुक पेज छ । उनी यी दुवै फेसबुकमा उतिक्कै सक्रिय रहन्छिन् । उनका पनि दर्जन बढी फेक फेसबुक एकाउण्ट खोलिएका छन् ।

नम्रता श्रेष्ठ

रेखा थापा र प्रियंका कार्कीपछि नायिका नम्रता श्रेष्ठ फेसबुकमा सर्वाधिक लाइक पाउने अभिनेत्रीको तेस्रो सूचीमा पर्छिन । भलाद्मी र सुन्दर नायिका भनेर चिनिने नम्रताको १४ लाख ८८ हजार ५ सय ४९ जनाले लाइक गरेको फेसबुक पेज छ । आलोक नेम्वाङले निर्देशन गरेको ‘सानो संसार’बाट नेपाली रजतपटमा भित्रिएकी नम्रताले पहिलो चलचित्रबाटै वाहवाही बटुलेपछि जिन्दगीलाई कहिले पछाडी फर्केर हेर्नै परेन । अहिले उनी ‘पर्व’ नामक चलचित्रको छायाँकनमा व्यस्त छिन् ।

केकी अधिकारी

म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा भित्रिएकी केकी अधिकारी फेसबुकमा निकै सक्रिय छिन् । उनी फेसबुकबाटै आफ्नो धारणाहरु समेत सार्वजनिक गर्ने गरेकी छिन् । उनका पोष्टले हजारौं लाइक पाउँछन् भने सयौं शेयर हुन्छन् । जोरपाटी काठमाडौंमा जन्मिएकी २५ वर्षीया केकी नाटक र विज्ञापनमा समेत जमेकी छिन् । उनको दुईटा फेसबुक छ । एउटा फेसबुकमा उनी साथीहरुसँग कुरा गर्छिन भने अर्को ६ लाख ८५ हजार ४ सय ८९ नाले लाइक गरेको फेसबुक पेज छ ।

सुष्मा कार्की

उघ्रेको चोली बोलको गीतमा आइटम गर्ल बनेपछि खुबै चर्चामा आएकी सुष्मा कार्की फेसबुकमा सर्वाधिक लाइक पाउने अभिनेत्रीहरु मध्ये सूची नम्बर पाँचमा पर्छिन । चलचित्रको पर्दामा खासै हिट नभएपनि उनलाई सामाजिक सञ्जालमा भने लाखौंले फलो गर्ने गर्छन । उनको ७ लाख ६१ हजार ५ सय ८२ जनाले लाइक गरेको फेसबुक पेज छ ।