शनिश्चरे/ मोरङको पथरीशनिश्चरे–१ स्थित न्यू पेगोडा बोर्डिङको रजत महोत्सवका अवसरमा विभिन्न खेलकुदका कार्यक्रम शुरु भएका छन् ।

०४८ सालमा स्थापित सो बोर्डिङले नगर क्षेत्रका विद्यालयहरूबीच भलिबल, हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । १० टीमबीचको भलिबलमा न्यू पेगोडा, वाल्मीकि र रेडस्टार बोर्डिङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । १२ विद्यालयबीचको हाजिरीजवाफमा न्यू पेगोडा, बाल जागरण र भूपू सैनिक विद्यालय क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।  चारदिने महोत्सवको फागुन ६ मा हुने समापनमा दुई दशकदेखि पत्रकारिता, साहित्य र कलाकारितामा सक्रिय ब्लाष्टकर्मी भूपेन्द्र तिम्सिनाका साथै पत्रकार सन्तोष राई, शिक्षासेवी, पूर्वशिक्षक, शिक्षक–कर्मचारी र अभिभावकसहित २५ जनालाई सम्मानित गरिने बोर्डिङका प्रिन्सिपल टीकाप्रसाद दङ्गालले जनाए ।

कार्यक्रममा, गायिका अञ्जु गौतम र साहित्यकार एवम् हास्यकलाकार धनकुटे कान्छाको प्रस्तुति रहनेछ ।