हास्यटेलिश्रृखला ‘मेरी बास्सै’ मा तक्मे बुढाको भूमिका निर्वाह गरेपछि एकाएक चर्चामा आएका हास्यकलाकार विल्सन विक्रम राईले पहिलो पटक डेब्यू गरेको बलीउड चलचित्रको नाम सार्वजनिक भएको छ ।

यसअघि निर्माणपक्षले चलचित्रको नाम गोप्य राख्दै आइरहेको थियो । यतिसम्मकी विल्सनलाई समेत निर्माण कम्पनीले आफ्नो भूमिका र चलचित्रको नाम सार्वजनिक नगर्न आदेश दिएको थियो । सलमान खान स्टारर चलचित्र ‘वान्टेड’ मा मुख्य भूमिका निर्वाह गरेपछि चर्चामा आएकी आयशा टाकियासँग विल्सनले बलीउडमा डेब्यू गरेको चलचित्रको नाम हो, ‘बोरीवली का ब्रूश ली’ ।

केही हप्ता अगाडी मात्र आयशाले आफ्नो इन्स्टाग्राममा एक तश्वीर शेयर गर्दै विल्सनको लुक्स सार्वजनिक गरेकी थिइन । तश्वीरमा विल्सनलाई चाइनिज गुरुको गेटअपमा देख्न सकिन्छ । तश्वीरसँग उनले चलचित्रको नाम पनि उल्लेख गरेकी छिन् तर छोटकरीमा । उनले ‘BBLEE’ भन्दै तश्वीरसँग चलचित्रको नाम उल्लेख गरेकी थिइन । तर, हालैमा भारतीय मिडियाहरुले चलचित्रको पूरा नाम बाहिर ल्याएका छन् । आयशाले बलीउडमा यही चलचित्रबाट कमब्याक गर्दैछिन् ।

१५ सिनका लागि अनुबन्धित भएका विल्सनले प्रत्येक सीन आयशासँग मात्र दिएका छन् भने उनले प्रत्येक सीनमा ढाकाटोपी लगाएका छन् । विल्सनले आफ्नो सीन सकाएर नेपाल फर्किसकेका छन् । अहिले यो चलचित्रको छायाँकन पनि सकिसकेको बताइएको छ । यो चलचित्रमा आयशा र विल्सनसँगै मराठी नायिका सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।