एजेन्सी/अस्ट्रेलियामा नक्कली फोटो र परिवर्तित पासपोर्ट अनि जन्म मिति परिवर्तन तथा नाम परिवर्तन गरेर आउनेको लागि यहाँको सरकार निकै कठोर रूपमा प्रस्तुत भएको छ।
पासपोर्टमा पिसी अर्थात फोटो चेन्ज गरेर बिदेश पठाउने दलालको निकै ठूलो गिरोह सक्रिय छ। भारतमा पासपोर्टको फोटो चेन्ज गरेर हुबहु गरेर बिदेश पठाउनेको गिरोहको फन्दामा अस्ट्रेलियामा पनि केही नेपाली फसेको पाइएको छ।
गत वर्ष एक जना बाग्लुङका नेपालीले कायमामा आत्महत्या गरे। स्थानीय प्रहरीले उनीसँग भेटिएको डकुमेन्टको आधारमा राजदूतावासमा खबर गर्यो। तर उनको पासपोर्टको आधारमा उनको पहिचान खुल्न सकेन। निकै कठिन परिस्थितिमा उनी बस्ने ठाउँको पहिचान भएपछि स्थानीय समाजले उनको सही पहिचान गरेको थियो। उनी अर्केको पार्सपोर्ट बोकेर अस्ट्रेलिया आएका रहेछन्।
यो त एउटा उदाहरण मात्रै हो, यस्तै एक पटक अस्ट्रेलियामा बसेर कागज बन्न नसकेपछि फिर्ता गएकाहरू पुनः नक्कली कागजात जुटाएर यहाँ आएका प्रसस्तै भेटिन्छन्। जसलाई दलालले डीसी अर्थात डेटअफवर्थ चेन्जका रुपमा नामाकरण गरेका छन्। एक पटक प्रवेषाज्ञामा खोट लागिसकेपछि नेपालमा गएर नाम वा जन्ममिति परिवर्तन गरेर आउनेको लागि अब अस्ट्रेलियन सरकार तगारो बनेको छ।
गत साता मात्र तीन नेपालीलाई एक महिना भित्र अस्ट्रेलिया छोड्न आदेश दिएपछि यो विषयले बजारमा चर्चा पाएको हो। कागजात बन्ने प्रकृयामा रहेको तीन जना नेपालीलाई अस्ट्रेलियन अध्यागमन विभागले किर्ते कागज पेश गरेको प्रमाणित भएपछि एक महिना भित्र देश छाड्न निर्देशन दिएको हो।
सञ्जय रिमाल ९नाम परिवर्तन० लाई दोस्रो पटक अस्ट्रेलिया प्रवेशमा धेरै आशा पलाएको थियो। उनको पीआरको ब्यवस्थापन पनि लगभग हुँदै थियो। अचानक अध्यागमनबाट एक महिनामा देश छाड्ने आदेश आएपछि उनी अक्क न बक्क भए।
‘यहाँ चार वर्षपछि हरेक डकुमेन्टको आयु सकिने कुरा गरेर एक जना साथीले फसाइदियो,’ उनले सेतोपाटीसँग भने। अब म अदालतको शरणमा जान्छु।’
प्रारम्भमा अस्ट्रेलियाको प्रवेशाज्ञाका लागि वायोमेट्रिक्स गर्नु पर्दैनथ्यो अहिले टुरिस्ट भिसादेखि हरेक खाले टेम्पोररी भिसाका लागि अनिवार्य बनाइदिएको छ। यसले नक्कली कागजात पेश गर्नेहरुको पहिचानको लागि अचुक बाणको काम गर्दै आएको छ।
औलाको रेखा र आँखा, अनुहारको माध्यमबाट मानिश पहिचान हुने हुनाले छलकपट पत्तो लाउन मुस्किल हुँदैन। पहिले पहिले मानिसहरूले यस्तो क्रियाकलापमार्फत गलत कार्य गर्न थालेपछि अस्ट्रेलियन सरकारले हरेक खाले टेम्पोररी भिसामा वायोमेट्रिक्सको व्यवस्था गरेको स्थानीय वकिल खिलेन्द्रराज तिम्सिनाले बताए।
यसले सर्वसाधारण भ्रमणमा आउने नेपालीलाई पनि वायोमेट्रिक्सको झन्झटमा फस्नुपरेको छ। नक्कली काम गर्ने र किर्ते कागजातवालाको लागि अब अस्ट्रेलिया कठिन मात्रै होइन असम्भव भइसकेको तिम्सीनाले बताए। ‘बास्तवमा यो हाम्रो देशको लागि राम्रो पनि होइन। यस्तो कडाइले दुई नम्बरीहरू निस्तेज हुने छन्।’
प्रारम्भमा विद्यार्थी र अन्य पेशामा अस्ट्रेलिया आए पनि यहाँको अध्यागमनको नीति नियममा चुक्दा कयैन मानिस इलिगल समेत बन्न पुगेका छन्। उनीहरू नेपाल गएपछि यहाँ आउने बाटो बन्द हुने गर्छ। उनीहरू फेरि अस्ट्रेलिया आउन यस्ता प्रयासहरू गर्ने गर्छन्, एनआरएन आइसीसी सदस्य वालचन्द्र भट्टराईले सेतोपाटीलाई बताए। ‘पढ्ने र काम गर्नेका लागि अस्ट्रेलिया उर्वर भूमी हो भने बेइमानीका लागि कठोर पनि।’
अस्ट्रेलियामा अब ‘पिसी’ र ‘डिसी’ चल्दैन !
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































