विपी प्रतिष्ठानका नयाँ उपकुलपति प्राडा रौनियारको स्वागत
विपी प्रतिष्ठानका नयाँ उपकुलपति प्राडा रौनियारको स्वागत
फागुन २२, २०७३
ब्लाष्ट खबर
धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति राजकुमार (आरके) रौनियारले सबैको साथ र सहयोगमा प्रतिष्ठानलाई एसियाकै नमूना स्वास्थ्य केन्द्र बनाउने बताएका छन्। प्रतिष्ठानमा नवनियुक्त उपकुलपतिको स्वागत कार्यक्रममा उनले भने, ‘प्रतिष्ठानको स्वास्थ्य सेवा, शिक्षा, प्रशासन लगायतका कुरालाई चुस्त र पारदर्शी बनाउनेछु,।’ उनले अग्रज, सहकर्मी र कर्मचारीबाट पूर्ण सहयोग पाउनेमा आशावादी रहेको बताएका थिए।
उपकुलपति रौनियारको स्वागतमा प्रतिष्ठानका कर्मचारी, चिकित्सक, नर्स र विद्यार्थी जम्मा भएका थिए।
काठमाडौँबाट आइतबार नै आएका रौनियारलाई स्वागत गर्न प्रतिष्ठानका कर्मचारी विराटनगर विमानस्थलमै पुगेका थिए। रौनियार विराटनगरबाट दुहवीस्थित घर पुगेर धरान आएका हुन्। रौनियारसँगै उपकुलपतिमा सिफारिस भएका प्रतिष्ठानकै शिक्षाध्यक्ष विक्रमप्रसाद श्रेष्ठ र सिफारिस हुनुअघि उपकुलपतिको दौडमा रहेका सिएस अग्रवालले पनि उनलाई स्वागत गरे। रौनियार यसअघि प्रतिष्ठानकै रेडियोलोजी विभागका प्रमुख थिए।