स्पेनस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इतिहास बनाएको छ । अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएर पनि दोस्रो लेगमा शानदार पुनरागमन गर्दै अन्तिम ८ मा पुगेर बार्सिलोनाले इतिहास बनाएको हो ।

यसअघि च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ४–० ले पराजित भएको कुनै पनि टिम क्वाटरफाइनलमा पुग्न सकेको थिए । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ला लिगा क्लब बार्सिलोनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ६–१ ले हराउँदै समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा बार्सिलोना पिएसजीसँग ४–० ले हारेको थियो । दोस्रो लेगमा बार्सिलोनालाई शानदार पुनरागमन गराउने क्रममा नेइमारले दुई तथा लियोनल मेस्सी, लुइस स्वारेज र सर्गी रोबर्टोले गोल गरे । पिएसजीका लेविन कुर्जावाले आत्मघाती गोल गरे । पिएसजीका लागि एडिसन काभानीले एक गोल गरे ।

तेस्रो मिनेटमा स्वारेजले गरेको गोल तथा ४० औं मिनेटमा कुर्जावाले गरेको आत्मघाती गोल पछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ५० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले गोल गरे । ६२ औं मिनेटमा काभानीले पिएसजीका लागि एक गोल फर्काए ।

खेलको अन्तिम समय पिएसजीका लागि निकै घातक बन्यो । ८८ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका नेइमारले इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ५–१ मा पुर्‍याए । त्यसपछि इन्जुरी समयको अन्त्यमा सर्गीले गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो र समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा पुग्यो ।

अवे मैदानमा भोगेको खराब हारको बदला बार्सिलोनाले घरेलु मैदानमा शानदार जितसहित लियो । बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार पुनरागमन गर्दै इतिहास बनाएको छ । अन्तिम १६ को दोस्रो लगे अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ६–१ ले हराउँदै बार्सिलोना समग्रमा ६–५ को जितसहित क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो लेगमा बार्सिलोना ४–० ले हारेको थियो । यसअघि च्याम्पियन्स लिगको इतिहासमा अन्तिम १६ को पहिलो लेगमा चार गोल अन्तरले हारेको टिम क्वाटरफाइनलमा पुगेको थिएन । बार्सिलोनाले युरोपियन फुटबलमा सुन्दर पुनरागमन गर्दै इतिहास बनाएको छ । युरोपियन फुटबलको इतिहासमा पहिलो लेगमा चार गोल अन्तरले हारेका अरु तीन क्लबले पनि दोस्रो लेगमा सुन्दर पुनरागमन गरेको इतिहास छ, तर त्यो च्याम्पियन्स लिगमा भने होइन ।

१) बोरुसिया मोन्चेङग्लाड्बाच भर्सेस रियल मड्रिड (सन् १९८५–८६ युइएफए कप) युइएफए कपको तेस्रो चरणमा रियल मड्रिड पहिलो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेङग्लाड्बाचसँग ५–१ ले हारेको थियो । अवे मैदानमा पराजित भएको रियल मड्रिडले घरेलु मैदानमा ४–० को जित निकाल्यो । मोन्चेङग्लाड्बाचले अवे मैदानमा गोल गर्न सकेन र होम एण्ड अवे गोलका आधारमा रियल मड्रिड अन्तिम ८ मा पुगेको थियो । २) लिक्सोस भर्सेस ला सु–डी–फोण्ड्स (सन् १९६१ कप विनरस् कप) लिक्सोस पहिलो लेगमा स्वीस क्लबसँग ६–२ सँग पराजित भएको थियो । अवे मैदानमा हारेको लिक्सोसले घरेलु मैदानमा भएको दोस्रो लेगमा ५–० को जित निकाल्दै समग्रमा ७–६ को जितसहित अघिल्लो चरण पुगेको थियो । ३) पार्टिजन भर्सेस क्युपिआर (सन् १९८४–८५ युइएफए कप) क्युपिआरले घरेलु मैदानमा भएको पहिलो लेगमा ६–२ को जित दर्ता गरेको थियो । तर पार्टिजनको मैदानमा भएको दोस्रो लेगमा ४–० ले पराजित भएको क्युपिआर अवे गोलमा पछि पर्दै बाहिरिएको थियो । पहिलो लेगमा चार गोलले पछि परेको पार्टिजन भने दोस्रो लेगमा गरेको शानदार पुनरागमनका कारण अघिल्लो चरण पुग्यो ।