काठमाडौं/ विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको खेल शनिबार कतिबेला सुरु हुने भन्ने अन्यौल भएको छ ।
शुक्रबार दिउँसोदेखि लगातार परिरहेको पानीका कारण पिच र आउट फिल्ड भिजेकाले खेल सुरु हुने समयबारे अन्यौल भएको हो ।
९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भएपनि अम्पायरले मैदानको कण्डिसन हेरेपछि मात्र खेलबारे टुंगो लाग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।
अम्पायरले हेरेपछी खेल अलि ढिलो सुरु गर्ने, ओभर घटाउने वा आइतबारका लागि सार्ने तय हुनेछ । खेल ढिलो सुुरु भएर शनिबार पहिलो इनिङमात्र भ्याइएको अवस्थामा दोश्रो इनिङ आइतबार खेलाइनेछ । र खेल सुरु नै हुन नसके आइतबार सुरुदेखि नै खेल हुने टमाटाले जानकारी दिए । शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।