अपडेटः काठमाडौं/ आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिसपअन्तर्गत् नेपाल र केन्याबीच अहिले पहिलो खेल भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेल विजयका लागि केन्याले २९ ओभरमा १०४ रनको चुनौती पछ्याइरहेको छ ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।
त्यसपछि वर्षा भएपछि ‘डकवर्थ लेविस’ नियमअनुसार केन्याले २९ ओभरमा १०४ रनको चुनौती पाएको हो ।
खेल सुरु हुनुअघि वर्षा भएपछि खेल ३८ ओभरमा झारिएको थियो ।
नेपालका लागि नवौं विकेटका लागि कीर्तिमानी अविजित ३० रनको साझेदारी गर्नेक्रममा शक्ति गौचनले १८ तथा सोमपाल कामीले १५ रन जोडे ।
कप्तान ज्ञानेन्द्र मल्लले २७ तथा ‘डेब्यु’ खेलाडी दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे । अर्का ‘डेब्यु’ खेलाडी सुनील धमलाले भने ३ रनमात्र जोडे ।
८ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा केन्या पाँचौं स्थानमा छ । हालसम्म खेलेका ८ खेलमध्ये केन्याले ४ मा जित र ४ मा हार व्यहोरेको छ । समान खेल खेलेको नेपाल अंकतालिकामा ६ अंकसहित छैटाैं स्थानमा छ ।
प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउनेछन् ।
नेपाल र केन्या दुबै टोलीलाई अंकतालिकाको शीर्ष चार स्थानमा अटाउन यो खेल जित्नैपर्ने दबाब छ ।