इनरुवा/ सुनसरीमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा झण्डै चार सय परीक्षार्थी अनुपस्थित भएका छन् ।
कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन परीक्षामा ३ सय ७६ विद्यार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार ६ हजार ५ सय २५ छात्र र ६ हजार ६ सय ६० छात्राले पहिलो दिनको परीक्षा दिएका छन् । अनुपस्थित हुनेमा छात्रको सङ्ख्या १ सय ९४ तथा छात्राको सङ्ख्या १ सय ८२ जना छ ।
४६ वटा केन्द्र निर्धारण गरिएको सुनसरीमा पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको सहायक जिल्ला शिक्षा अधिकारी पिताम्बर गौतमले जनाए ।
एसईईअन्तर्गत झुम्काको क्षेत्रीय कारागारबाट सातजनाले परीक्षा दिएका छन् । शिक्षा कार्यालयका अनुसार पाँचजना दृष्टिविहीन, एकजना सुस्त मनस्थिति र पाँचजना विभिन्न खाले शारीरिक असक्तता भएका विद्यार्थी परीक्षामा सामेल भएका छन् ।