सर्लाही/सर्लाहीको मूर्तिया परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । दिदीको नामबाट माध्यमिक शिक्षक परीक्षा (एसईई) दिइरहेको अवस्थामा मूर्तिया उमावी परीक्षा केन्द्रबाट पूजाकुमारी पण्डितलाई अनुगमन टोलीले पक्राउ गरेको हो । उनले दिदी रञ्जिताकुमारी पण्डितको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा फेला पारिएको अनुगमन टोलीले जनाएको छ ।
बिहिवारबाट सुरु भएको एसईई परीक्षा अन्तर्गत आज दोस्रो दिन विद्यार्थीहरुले अनिवार्य नेपाली विषयको परीक्षा दिएका छन् । एसईई परीक्षा सञ्चालनका लागि सर्लाहीमा ३३ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
ती परीक्षा केन्द्रबाट करिब साँढे ९ हजार विद्यार्थीले परीक्षा दिइरहेका जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीमा आज दोस्रो दिन सम्म सबै परीक्षा केन्द्रहरुमा शान्तपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीले जानकारी दिए ।