संखुवासभा / चैनपुर स्थित संखुवासभा बहुमुखी क्याम्पस चैनपुरमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका डीन प्राध्यापक डाक्टर कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस निरीक्षणको क्रममा डीन गौतम क्यापस पुग्नुभएको अवसरमा क्याम्पस संचालक समितिका अध्यक्ष उमेशकुमार डाँगीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा त्रिवि प्राध्यापक केशवराज शर्मा, हेल्पीङ हेण्डका नारायण श्रेष्ठ, पूर्व क्याम्पस सञ्चालक समितिका अध्यक्षहरु शंकर कँडेल, तुलसीप्रसाद न्यौपाने, समाजसेवी योगेन्द्र शर्मा, क्याम्पस संचालक समितिका सदस्यहरु, प्राध्यापक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा विश्वविद्यालयहरुको तुलनामा त्रिभुवन विश्वविद्यालय अन्य विश्वविद्यालय भन्दा उच्च रहेको हुँदा समय अनुसार शैक्षिक गतिविधिमा अपडेट गर्नुपर्ने बताउनु हुँदै क्याम्पसको अवस्थाको बारेमा पूर्वदेखि पश्चिम सम्मका त्रिवि क्याम्पसहरुको समस्या तथा गतिविधि बुझेर नीति निमार्ण तयार गर्ने उद्देश्य रहेको बताए । र त्रिभुवन युनिभरसिटिले विषय गाभ्ने निति सिनेटले ल्याइसकेको समेत डीन गौतमले कार्यक्रममा बोल्दै जानकारी दिए ।

कार्यक्रमको अवसरमा सहायक प्राध्यापक डण्डपाणि भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने क्याम्पस प्रमुख भरतकुमार शाक्यले क्याम्पसको गतिविधिको बारेमा जानकारी गराउनु भएको हाम्रा सहकर्मी मोहन कुमार राईले बताए ।