धरान/आधुनिकतासँगै हराउदै गएको कुमाल जातिको परम्परागत माटोको भाँडाकुडा बनाउने सीप बारे पन्ध्रदिने तालिम सुरु गरिएको छ ।
युवापूस्ताहरुलाई परम्परागत ज्ञान प्रदान गर्ने उद्देश्यले इलामको चुलाचुली गाउपालिका–२ मा तालिम दिन थालिएको हो । जहाँ कुमाल जातिको बाहुल्यता रहेको छ । पूर्वमा महमाई र चुलाचुली गरी झण्डै ३ सय घरधुरी कुमालहरुको बसोबास छ ।
महमाई नगरपालिका र चुलाचुली गाउपालिकाका ३० जना कुमाल युवाहरुलाई तालिम प्रदान गरिरहेको अध्यक्ष हेमकुमार कुमालले बताए । नेपाल कुमाल समाज सुधार समितिको आयोजनामा भइरहेको तालिममा पोखराका लोकबहादुर कुमाल र संखुवासभा तुम्लिङटारका अमरबहादुर कुमालले तालिम दिइरहेका छन् ।
उनीहरुले माटोको गमला, खुत्रुके, मटिया, दियो, पानसबत्ति, सोराई, लोटा, फूलदानी, स्ट्रे लगायतका भाँडाकुडा बनाउने तालिम प्रदान गरिरहेका छ । कुमाल जातिहरुको संस्कार लोप हुदै गएकोले उक्त कुरा बारे युवापूस्ताहरुलाई जानकारी दिन तालिम आयोजना गरिएको चुलाचुली गाउपालिका सुधार समितिका सह सचिव चन्द्र कुमालले बताए । तालिमको समापन चैत्र २७ गते हुदै छ ।