धरान/लायन्स क्लव अफ धरान बुढासुब्बाले गरेको ‘आँखा दान घोषणा’ कार्यक्रममा एकसय जनाले आँखा दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छन् । धरानमा यतिका धेरैले एकैपटक आँखा दान गरेको पहिलो पटक हो । ४० महिलासहित एकसय जनाले आँखा दान गर्ने घोषणा गरेका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आँखा विभागकी विभागीय प्रमुख डा. पुनम लाभाजूले आँखाको महत्व बारेको तीनमिनेटको वृतचित्र प्रस्तुत गरिन् । उनले मृत्युपछि पनि आफ्नो आँखामार्फत् कसैले संसार देख्ने भएकाले आँखा दान गर्नु राम्रो भएको बताइन् । ‘आफू मरेपछि कसैले देख्न सक्छ ।’ डा. लाभाजूले भनिन् । कार्यक्रम आयोजकका अध्यक्ष दिपेन्द्र निरौलाले नयाँ वर्षको अवसरमा केही नयाँ प्रतिबद्धता लिएर जाउ भनेर नै आँखा दान घोषणा कार्यक्रम गरिएको बताए । उनले मरेर सकिने कुरालाई पुनर्जीवित हुने भएकाले दान गरेर कसैको लागि प्रेरक बनिने बताए । आँखा दान गर्नेहरु सुनसरी, इलाम, झापाका मानिसहरु रहेका छन् । प्रतिष्ठानको आँखा विभागले केही वर्ष यतादेखि नै आँखा दान गर्नेहरुलाई इच्छापत्रमा हस्ताक्षर गराउने गरेको छ ।