धरान/पाचौं नेवा च्यारिटी ८ के रनको आयव्ययसगै ‘नेवा च्यारिटी एजुकेसन फण्ड’ घोषणा गरिएको छ । च्यारिटीबाट संकलित २ लाख २० हजार चारसय २८ रुपैया मध्ये १ लाख ५० हजार रुपैया फण्डमा जम्मा गरिने धरान रनका अध्यक्ष रेमू राईले बिहीबारको पत्रकार सम्मेलनमा बताए । फण्ड २ लाख ५० हजार रुपैयाको बनाइने घोषणा गरिएको छ । जसमा धरान रनका संस्थापक सन्तोष राईको आमा भक्तमायाले एक लाख रुपैया दिने घोषणा गरेकी छन् । दुबै रकमको अक्षयकोष निर्माण गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष कोषको ब्याजको रकमले शैक्षिक सामग्री प्रदान गरिने अध्यक्ष राईले बताए । उनका अनुसार यो वर्ष चारजनालाई एकवर्षसम्म अध्यापन खर्च दिने तयारी भएको छ । जसमा किरातेश्वर माविमा ३ कक्षामा पढ्ने मनिता घतानी, ल्यावरोटरी उच्चमावि कक्षा २ मा पढ्ने एलिसा क्षेत्री र निकेतन उच्चमावि ८ कक्षामा पढ्ने मतिराज राईको नाम छनौट गर्दै स्कुल पोशाक, कापी, कलम प्रदान गरिएको छ । अझै एकजनाको नाम छनौट गर्न बाँकी रहेको छ । उक्त एजुकेसन कोषका लागि अन्य सहयोगी संघसंस्थालाई सहयोगको लागि धरान रनले अपिल गरेको छ । १५ लाख रुपैया बराबरको कोष खडा गरेर हरेक वर्ष जेहेन्दार विद्यार्थीहरुको छनौट गर्दै पढाई खर्च दिने तयारी गरेको छ । नेवा च्यारिटीबाट संकलित २ लाख २० हजार रुपैया मध्ये एकलाख ५० हजार कोषमा र अन्य रकम संस्थाको खर्चको लागि छुट्टयाइएको छ । पाँचौं नेवा च्यारिटीमा देशविदेशबाट गरी १६ लाख ४५ हजार ३१ रुपैया संकलन भएको थियो । जसमध्ये १३ लाख ८४ हजार एक सय ३ रुपैया खर्च भएको बताएको छ । कार्यक्रममा पत्रकारहरुको लागि सात थान ज्याकेटसमेत उपलब्ध गराइएको छ । उक्त सामग्री फोटो पत्रकार विकाश राईलाई हस्तान्तरण गरिएको अध्यक्ष रेमू राईले बताए ।