धरान/ सामान्य पेट दुखेर संखुवासभाबाट आएका एक बिरामीको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

मादीमुलखर्क–२ संखुवासभाका ५३ वर्षीय नरबहादुर राईको इण्डोस्कोपी गर्ने क्रममा मृत्यु भएको परिवारले जनाएको छ । परिवारले चिकित्सकको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरेको छ । सकुशल इण्डोस्कोपीको लागि आइतबार साढे ३ बजे छिराए लगत्तै समस्या आएको भन्दै आकस्मिक कक्षमा पठाएको पाँच मिनेट नबित्दै मृत्यु भएको छोरी रुपा देवानले बताइन् ।

उनले इण्डोस्कोपी गर्दा चिकित्सकको लापरबाही भएको दाबी गरेकी छन् । ‘बैसाख ८ गते ओपिडीको मेडिसिनमा हेरेपछि इण्डोस्कोपी गर्नुपर्छ भनेको थियो ।

इण्डोस्कोपीको समय आइतबार २ बजेको दिएको थियो । तर, ३ः३५ बजेतिर मात्रै भित्र छिराइयो ।’ मृतकका भतिज भीम देवानले भने, ‘छिराएको पाँचदश मिनेटमै बिरामीलाई समस्या आयो इमरजेन्सीमा लानुस् भनेर पठाइदियो । त्यहाँ लग्दा मुटुमा समस्या छ । दवाई ल्याउनुस् भनेर बाहिर पठाइयो । आउँदा मान्छे छैन् ।’

उनका अनुसार ८ गते ओपिडीमा पेट दुखेर आएका मान्छे एक्कासी मृत्यु हुँने कारण के हो त्यसको छानविन हुनु पर्छ । उनले थपे, ‘डाक्टरहरुको लापरबाही भएको छ भन्ने हो । के कारणले यस्तो भयो चित्त बुझ्दो जवाफ दिनु पर्यो । छानविन हुनु पर्यो भन्ने हाम्रो माग हो । डाक्टरको लापरबाही छ भने उसलाई कारबाही हुनु पर्यो । पीडितलाई क्षतिपूर्ती हुनुपर्छ ।’

हाल मृतकको शव मर्चरीमा राखिएको छ । मेडिसिन विभागको ओपिडीका चिकित्सकले नै बैसाख १० (आइतबार) को इण्डोस्कोपीको समय तोकेको थियो । यस विषयमा अस्पताल निर्देशक प्रा.डा. अरबिन्दाकुमार सिंन्हालाई बुझ्दा यो आफ्नो क्षेत्र नभएको सिधै उपकुलपतिलाई फोन गर्नको लागि भनेको देवानले बताए ।

‘अस्पताल निर्देशकलाई फोन गर्दा मसँग सम्बन्धित विषय कुरा हैन, भिसीलाई सम्पर्क गर्नुस भनेर भन्नुभयो ।’ उनले भने, ‘भिसीलाई सम्पर्क गर्दा फोन उठाएन् ।’

यता ब्लाष्टकर्मीले उपकुलपति प्रा.डा. आरके रौनियारलेसमेत कार्यालयको फोनबाट बारम्बार फोन गरे पनि उठाएनन् । अस्पतालका प्रवक्ता नारायणप्रसाद भट्टराईले आफूलाई यस विषयमा जानकारी नभएको र बुझेर मात्रै यसविषयमा भन्न सक्ने बताए ।

उनले यो विषयमा अस्पताल निर्देशकलाई नै जानकारी हुने बताए । उनले इण्डोस्कोपी गर्दा बिरामी मृत्यु नै हुने कण्डिसन नआउने बताए ।