धरान /सामान्य पेट दुखेर आएका बिरामीको ‘असमान्य मृत्यु’ भएको भन्दै बिरामीको आफन्तले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनमा लिखित निवेदन दिएपछि सत्यतथ्य पत्ता लगाउन पीडितसहितको छानविन समिति बनेको छ ।
प्रतिष्ठान आकस्मिक कक्षका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लको संयोजकत्वमा पीडित पक्षका दुई जना सदस्य रहने गरी पाँच सदस्यीय छानविन समिति बनेको हो । संखुवासभाको मादीमुलखर्क(२ का ५३ वर्षीय नरबहादुर राईको इण्डोस्कोपी गर्ने क्रममा अचानक सिकिस्त भएपछि केही क्षणपछि नै मृत्यु भएको थियो । राईलाई उनका आफन्तहरूले बैसाख ८ गते मेडिसिन विभागको ओपिडीमा देखाएका थिए ।
उक्त समयमा विभागका डाक्टरले इण्डोस्कोपी गरेर हेर्नु पर्ने भन्दै बैसाख १० आइतबार २ बजेको सयम तोकिदिएको थियो ।तर, उनलाई आइतबार ३ बजेर ३५ मिनेटमा मात्रै इण्डोस्कोपी गर्न हालिएको थियो ।
इण्डोस्कोपी गर्न लगिएको ५ मिनेट नबित्दै बिरामीमा समस्या आयो भन्दै चिकित्सकहरूले आकस्मिक कक्षमा लानको लागि आग्रह गरेको मृतकका आफन्तले बताएका थिए । आकस्मिक कक्षमा लगेको केही समयपछि नै बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरूले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाएका थिए ।
उनीहरूले सत्यतथ्य छानविन हुनु पर्ने, दोषी चिकित्सकमाथि छानविन गर्दै कारबाही गर्नुपर्ने र क्षतिपूर्तिको माग राखेका थिए ।र, सोमबार राईका छोरा हर्क देवान जिमीले प्रशासनमा छानविन गरी कारबाही गरिपाउँ भन्दै निवेदन दिएका थिए ।
प्रशासनमा निवेदन परेपछि सहायक अस्पताल निर्देशक डा. पशुपति चौधरीले घटनामा पीडित पक्ष र सम्बन्धित चिकित्सकहरूलाई छलफलमा राखेका थिए । छलफलका क्रममा प्रा.डा. मल्लको संयोजकत्वमा डा. राजिव महर्जन र हस्पिटल प्रशासन प्रकाश श्रेष्ठसहित पीडितहरूको तर्फबाट भीम देवान र बुद्धवीर लिम्बूसहितको छानविन टोली गठन भएको उनले बताए ।
समितिले मंगलबारबाटै काम थाल्ने भएको छ ।‘लिखित रूपमा निवेदन आइसकेपछि छलफलमा बोलाएँ । दुबै पक्षको कुरा सुनेँ ।
छलफल हुँदाखेरी घटना पत्ता लगाउनको लागि छानविन समिति गठन भयो । पीडितको आग्रहमा पोष्टमार्टम गर्ने निर्णय भयो ।’ सहायक अस्पताल निर्देशक डा. चौधरीले भने । उनका अनुसार चिकित्सकहरूले इण्डोस्कोपीको कारणले बिरामीको मृत्यु नभई भित्री रोगको कारणले मृत्यु भएको जानकारी आफूलाई छलफलका क्रममा बताइएको छ ।
‘इण्डोस्कोपी गर्ने डाक्टरहरूले इण्डोस्कोपीले हैन, भनेर भन्नुभयो ।’ उनले फोनमा भने ।इण्डोस्कोपीमा डा. मनिष सुवेदीले उपचार गरेको मृतकका भतिजसमेत रहेका छानविन समितिका सदस्यसमेत रहेका भीम देवानले बताए । ‘बिहान मृतकका छोरा हर्कले निवेदन दिने काम भयो । त्यसपछि छलफलमा बसियो ।’
उनले भने, ‘समिति गठन भयो । त्यो समितिले मंगलबारदेखि नै छानविन गर्ने भन्ने भयो ।’ छानविन समिति गठन भएपछि शवको पोष्टमार्टम गर्दै शव बुझ्ने काम भएको उनले बताए ।
मृतकका छोरा हर्कले छानविन गरी दोषीलाई कारबाही गरिपाउँ भन्दै निवेदन दिएको बताए । ‘मेरो बुबाको मृत्यु अस्वभाविक हो । लापरबाहीले नै हो भन्ने बुझाई हो ।’
उनले भने, ‘दोषीमाथि कारबाही होस्, यस्तो अरुलाई नहोस् भनेर पनि निवेदन दिएको हुँ ।’यसविषयमा आइतबार कार्यकाल पूरा भएका पूर्व अस्पताल निर्देशक प्रा.डा. अरविन्दाकुमार सिन्हालाई पीडित पक्षले फोन गरेर बुझ्दा ‘यसविषयमा आफूलाई थाहा नहुने र उपकुलपतिलाई बुझ्न’ को लागि भनेका थिए । जिम्मेवारी बाहिर रहेकाले पनि पूर्व अस्पताल निर्देशकले उपकुलपतिलाई बुझ्नको लागि भनेको हुन सक्ने डा. चौधरीले बताए ।