बिर्तामोड/ बिर्तामोडको चर्चित अपहरण काण्डका प्रमुख योजनाकार अझसम्म पक्राउ पर्न सकेका छैनन् । राजनीतिक दलको छत्रछायामा रहने नेता तथा पत्रकारलाई प्रहरीले दुई साता बित्दा समेत पक्राउ गर्न नसकेको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र (राम) कार्कीका स्वकीय सचिव अग्नि भनिने राजु आचार्य र सगरमाथा टिभीका झापा सम्वाददाता पुजन घिमिरे हालसम्म फरार छन् । भद्रपुर रोडमा रहेको १५ करोड मूल्यबराबरको ५ कठ्ठा १६ धुर जग्गा हडप्ने आचार्य, घिमिरे लगायत राजनीतिक दलका केही नेता, व्यवसायी, प्रशासन, मालपोत कार्यालयका कर्मचारीले आपूmलाई अपहरण गरेपश्चात् पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिंदै जग्गा पास गराएको पीडित जीवन विष्टले बताएका छन् । उनले अपहरणमा संलग्न माओवादी केन्द्रका नेता मन्त्रालय वरपरै घुमिरहेको बताए । झापा प्रहरीले आपूmलाई न्याय दिलाएको भन्दै उनले बाँकी अभियुक्तलाई पनि चाँडै पक्राउ गर्न आग्रह गरे । ‘अपराधमा संलग्न नेता, पत्रकार सबै पक्राउ परेपछि मात्र मैले न्याय पाउँछु’, उनले भने । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मेचीनगरका भूपु कान्छा भनिने अजय राई, राजु कुँवर, चन्द्रगढीका तेजेन्द्र न्यौपाने र प्रेम न्यौपानेलाई पक्राउ गरेपनि पुजन घिमिरे, शम्भु दहाल, अग्नि भनिने राजु आचार्य, लक्ष्मण बस्नेत र ओम शिवाकोटी फरार रहेको जनाएको छ । ‘मालपोत कार्यालयका लेखन्दास मुक्ति निरौला, नायब सुब्बा टीकाराम लुईंटेल र खरिदार रुद्र सापकोटासहित केही कर्मचारीलाई पनि अनुसन्धानको घेरामा राखेको छौं’, झापाका एसपी सैलेश थापाले भने । पीडित बिष्टले इलाका प्रहरी कार्यालय बिर्तामोडमा चैत २५ गते किटानी जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले २७ र ३० गते उनीहरुलाई पक्राउ गरेको थियो । अभियुक्तमाथि अपहरण, शरीर बन्धक जस्ता सङ्गठित अपराध, ठगी, सरकारी छाप दुरुपयोग जस्ता अभियोगमा मुद्दा चलाउने प्रहरीले बताएको छ । ‘मन्त्रीका स्वकीय सचिव आचार्य र पत्रकार घिमिरे सबैको उत्तिकै संलग्नता भएको देखिन्छ’, एसपी थापाले भने । अभियुक्तहरुलाई पक्राउ गर्न सादा पोशाकको प्रहरीलाई काठमाडांै लगायतका ठाउँमा परिचालन गरिएको उनको भनाइ छ । प्रहरीका अनुसार पत्रकार घिमिरे भने भारत गएको कारण पक्राउ पर्न केही ढिलाइ भएको हो । घटनामा ठूलो गिरोह संलग्न रहेका कारण अनुसन्धान गर्न केही समय ढिलो भएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रमेशराज भट्टराईले बताए । घटनामा शक्तिकेन्द्र नजिकका व्यक्ति संलग्न रहेको कारण पक्राउ गर्न ढिलाइ गरिएको हो भन्ने प्रश्नमा डिआईजी भट्टराईले प्रहरीको मिसिल र मुद्दाले साना–ठूला कसैलाई नछाडी कारवाही हुने बताए । ‘मैले घटनाका दोषीलाई कार्वाही गर्न निर्देशन दिइसकेको छु, उनीहरुलाई कार्वाही हुन्छ, ढुक्क हुनुहोस्’, डिआईजी भट्टराईले भने ।
अपहरण काण्डका मुख्य योजनाकार पक्राउ गर्न ढिलार्इ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































