विराटनगर/ साउन महिना बित्न लाग्दासमेत पूर्वाञ्चलको तराईमा धान रोपाई ७४ प्रतिशत मात्र भएको छ ।
पर्याप्त पानी नपर्नु र सिंचाईको अभावका कारण रोपाई उत्साह जनक रोपाई हुन नसकेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले जानकारी दिएको छ ।
पहाडी र मध्य पहाडी क्षेत्रमा पनि गत वर्षको तुलनामा धान रोपाई राम्रो हुन नसकेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका सूचना तथा बरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले बताए ।
क्षेत्रिय कृषि निर्देशानलयको अनुसार उच्च पहाड ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ८८ दशमलव ७४ प्रतिशत धान रोपाई भएको छ । यस्तै मध्य पहाड इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा ८१ दशलव २७ प्रतिशत र तराईको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा ७० दशमलव ५८ प्रतिशत धान रोपाई भएको छ ।
अन्न भण्डार मानिने तराईको झापामा ८२ प्रतिशत मात्रै धान रोपाई भएको छ । अघिल्लो वर्ष यही समयमा झापामा झण्डै ९० प्रतिशत धान रोपाइ भएको थियो । यस्तै मोरङमा भने ६५ प्रतिशत मात्रै रोपाई भएको छ, साउनको अन्तिम र भदौंको पहिलो हप्तासम्ममा २० प्रतिशत धान रोपाई हुने अनुमान कृषि कार्यालयको छ ।
यता सिंचाईको असुविधा र पर्याप्त वर्षा नहुँदा सिरहामा भने अहिलेसम्ममा ५० प्रतिशत मात्रै धान रोपाई भएको छ । ‘गत वर्षको तुलनामा यो वर्ष पर्याप्त वर्षा नहुनाले धान रोपाईको प्रतिशत घटेको छ,’ उप्रेतीले भने, ‘रोपेको ठाउँमा पनि वर्षा नहुँदा राम्रो धान उत्पादन हुन नसक्ने र यस वर्ष धान उत्पादन समग्रमा विगत वर्षभन्दा कम हुने अनुमान छ ।’ तराईमा भदौ पहिलो हप्तासम्म धान रोप्ने समय भएको कारण ९० प्रतिशत भन्दा बढी धान रोपाई हुने अनुमान कृषि कार्यालयको छ । यद्यपि त्यसका लागि पनि पर्याप्त वर्षा हुन आवश्यक छ ।
तथ्यांक अनुसार अहिलेसम्म मध्य पहाडी जिल्ला पाँचथरमा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाई भएको छ भने सबैभन्दा कम धनकुटामा ६७ प्रतिशत मात्रै धान रोपाई भएको छ । यता तराईमा भने झापामा सबैभन्दा बढी ८२ प्रतिशत र सबैभन्दा कम सिरहामा ५० प्रतिशत मात्रै धान रोपाई भएको छ । मोरङमा ६५, सुनसरीमा ७८ र सप्तरीमा ७५ प्रतिशत धान रोपाई भएको छ ।
समग्रमा पूर्वाञ्चलमा ७३ दशमलव ८९ प्रतिशत अर्थात् ४ लाख ७८ हजार ५ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ५३ हजार २ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।