ताप्लेजुङ/ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पहिरोका कारण एक घरका परिवार विस्थापित भएका छन् भने सात घर पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोको कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको थिवा बस्तीका डम्बरबहादुर लाबुङको परिवार विस्थापित भएका हुन् । बस्ती नजिकै उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्ग सडक निर्माण गरिएको र बस्ति मुनि तार सहितको पर्खाल नलगाएकोले पहिरो बग्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
पहिरोका कारण विस्थापित बनेका लाबुङका अनुसार दुई/चार दिनदेखि निरन्तर वर्षा भईरहेको र बस्ति मुखि पर्खाल नलगाएकाले अहिले पहिरो बग्न थालेको हो । सडकको डिलमा रहेको थिवा बस्तीमा पहिरो बग्न थालेपछि सिंगो बस्ती पहिरोको जोखिममा परेको उनको भनाई छ ।
गएको शुक्रबारदेखि पहिरोले विस्थापित भएका लाबुङ अहिले छिमेकीको शरणमा बसेका छन् । यस्तै पहिरोको कारण मोतीकुमार लाबुङ, तिलप्रसाद लाबुङ, गंगाबहादुर लाबुङ, नरमाया लाबुङ, खड्गबहादुर लाबुङ, छत्रबहादुर लाबुङ र पुनहाङ लाबुङको घर उच्च जोखिममा परेका छन् ।
यता फुङ्लिङ नगरपालिका ९ हाङ्देवाको कटहरेमा घर माथिबाट झरेको पहिरोका कारण बिरेन्द्र कार्किको परिवार विस्थापित भएका छन् । राति घर माथिबाट पहिरो झरेको कार्कि परिवारले बताएका छन् ।
यस्तै ताप्लेजुङको सिदीङवा गाउँपालिकामा खसेको पहिरोले २ घर उच्च जोखिममा परेका छन् । गएरातिको वर्षा संगै सो गाउँपालिका वडा नं ३ आङखोपको ओखरवोटे भन्ने स्थानमा पहिरो खस्दा स्थानिय टिकाराम मगर र यज्ञप्रसाद खरेलको घर पहिरोको जोखिममा परेको स्थानिय प्रकास राईले बताए ।
पहिरोका कारण करिव सय रोपनि क्षेत्रफलमा स्थानियले लगाएका अलैँचि तथा धान खेतिमा समेत क्षति पुर्याएको राईको भनाई छ । पहिरोले सोहि गाउँपालिकाको बस्तिहरुमा लगेको खानेपानिको मुहान सहित कुलो र पाईप बगाएपछि सो गाउँमा खानेपानीको अभाव भएको राईले बताए ।