धरान/अभावका कारण उच्च शिक्षा लिनबाट बन्चित धनकुटाकी एक किशोरीलाई झापा विर्तामोडका एक व्यक्तिले सहयोग गरेका छन् ।

धरानको ल्यावरोटरी उच्चमाविमा यसैवर्षदेखि अध्ययनरत दृष्टिविहीन अस्मिता श्रेष्ठलाई विर्तामोडका लक्ष्मीप्रसाद प्रसाईले प्लस टुसम्म अध्ययनको लागि सम्पूर्ण खर्च उपलब्ध गराएका हुन् । प्रसाईले स्कुलमै आएर मंगलबार उनको शुल्कहरु तिरिदिएका छन् । उनले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको आधारमा उच्च शिक्षा अध्ययनको लागि सहयोग गर्ने मनस्थिति बनाएको बताए । ‘कतिले पैसा भएर पनि पढेका छैनन् । कमसेकम उनले उच्च शिक्ष ागरिने भने गरिखाने आधार हुन्छ । केही सहयोग गर्नुपर्छ भनेर म यहाँ आएको हो ।’ उनले सहयोगका क्रममा भने ।
अस्मिताले पूर्वाञ्चल ज्ञानचक्षुबाट एसईई उर्तीण गरेकी थिइन् । बि प्लसमा उर्तीण भएकी उनले आर्थिक अवस्थाका कारणले अध्यापनमा समस्या भएको बताइन् । सोही विषयमा समाचार प्रकाशित भएपछि आफूलाई सहयोग आएकोमा धन्यवाद ज्ञापन गर्दै आफूले राम्ररी पढ्ने बताइन् । हरिबहादुर श्रेष्ठको तीन छोरी मध्ये जेठी छोरी हुन् । श्रेष्ठले आफ्नो छोरीले उच्च शिक्षा गर्ने अवसर पाएकोमा दातालाई धन्यवाद ज्ञापन गरे । त्यस्तै स्कुलले पनि उनीहरुलाई केही सहयोग गरेको प्लस टु तर्फका संयोजक पुरुषोत्तम खतिवडाले बताए । प्रसाईले अस्मिताले पढिञ्जेलसम्मको खर्च दिन आफू तयार रहेको बताए ।