काकरभिट्टा । आँखा र इएनटीको उपचार एकै थलोमा गर्ने भन्दै झापाको एउटा क्लिनिकले सम्बद्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रिया लगायतका उपचार सुरु गरेको पाइएको छ । मेचीनगरपालिका काँकरभिट्टामा रहेको ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अबैध रुपमा सञ्चालन भइरहेको पाइएको हो । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानून बमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति लिनु पर्नेभएपनि दिब्यज्योति आइ एन्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति नलिई धमाधम उपचार गतिविधि सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रशासकीय अधिकृत देवराज कार्कीले दिब्यज्योति आइ एन्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति पाइनसकेको प्रस्ट पारे । अनुमति मागेको भएपनि सञ्चालन स्वीकृति दिइनहालेको कार्कीको भनाइ छ । स्वास्थ्यसँग सम्बन्धित क्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनिवार्य अनुमति लिएको हुनु पर्ने कानूनी प्रावधान रहेको उनले बताए । गत भदौ पहिलो सातादेखि क्लिनिक सञ्चालनमा आएको थियो । स्वास्थ्य सम्बन्धी नयाँ संस्था खोल्दा उस्तै प्रकृतिको अर्को संस्था रहेको स्थानभन्दा एक किलोमिटर टाढाको दुरीमा हुनु पर्ने कानूनी प्रावधान समेत मिचेर दिब्यज्योति क्लिनिकले सेवा सुरु गरेको पाइएको छ । हाल दिब्यज्योति रहेको ठाउँ मेची नेत्रालयबाट एक किलोमिटरभन्दा कम दुरीमा रहेको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७०को दफा १६ मा स्वास्थ्य संस्था स्थापना हुँदा कायम हुनु पर्ने दुरीको बारेमा प्रस्ट व्यवस्था छ ।
उनले जिल्ला जनस्वास्थ्य कार्यालय झापामा अनुमतिका लागि माग गरिएको बताउँदै क्लिनिक सञ्चालन गर्न सम्बद्ध निकायबाटै ‘मौखिक अनुमति’ पाएको जनाए ।