धरान / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मातहतको धरान आयुर्वेद औषधालयका कविराज रामबाबु यादवले धरान उपमहानगरलाई भदौं २१ गते स्पष्टिकरण बुझाएका छन् ।

ब्लाष्टले उनी कार्यालयमा नबस्ने गरेको विषयमा भदौं १५ गते समाचार प्रकाशन गरेपछि उनलाई धरान उपमहानगरले भदौं १९ गते स्पष्टिकरण सोधेको थियो । उक्त स्पष्टिकरणमा उनले त्यो समय १० बजेको रहेको भन्दै पठाएका थिए ।

खासमा त्यो दिन पौने १२ बजेसम्म पनि उनी कार्यालयमा उपस्थित थिएनन् । कार्यालयको सहयोगीले खाना खान गएको बताएका थिए । त्यति मात्रै हैन, उनले आफ्नो छोरी बिरामी भएकाले उपचारको लागि गएको भनेर उल्लेख गरेको नगर प्रमुख तारा सुब्बाले बताए । उक्त दिनभरी उनी कहाँ–कहाँ थिए र कहाँ कहाँ गए भन्ने बारेमा फेहरिस्त लेखेर बुझाएको धरान उपमहानगरका प्रमुख सुब्बाले बताए ।

कविराज यादवले बुधबार ब्लाष्टकर्मीसँगको भेटमाभने ‘उक्त दिन पर्व विदामा’ आफू रहेको स्पष्ट पारे । र, साउन १ गतेदेखि नै धरान उपमहानगरमा काजमा रहेकोसमेत स्पष्ट पारेका छन् ।

उनले भने, ‘त्यो दिन म पर्वविदामा थिएँ ।’ उनलाई सोधिएको स्पष्टिकरणमा भने पत्रकार पुगेको समय १० बजेको रहेको भन्दै खुलाएको पाइएको थियो । उक्त पत्र र समाचारमा छापिए अनुसारको समय नमिलेको प्रमुख सुब्बाले बताए । त्यसविषयमा पनि उनलाई स्पष्ट पार्न भनिएको थियो ।

‘आयुर्वेदका प्रमुखले स्पष्टिकरण पेश गरेको छ । छोरी बिरामी थियो भनेर पेश गरेको छ ।’ प्रमुख सुब्बाले भने, ‘अव के गर्ने भन्ने विषयमा छलफल भएको छैन् । प्रशासनलाई त्यो जिम्मेवारी दिइएको छ ।’

तर, ब्लाष्टकर्मीसँगको भेटमा भने उनले काठमाडौं विश्वविद्यालयमा छोरीको फर्म भर्नको लागि धरानमा इभेष्टमेन्ट बैंक नभएपछि इटहरी गएर भरेको बताएका छन् । ‘नानीको केयुमा फर्म भर्न जाँदा छुट्टी लिनु कि नलिनु ?’ उनले प्रतिप्रश्न गरे । तर, उनले दिएको स्पष्टिकरण र ब्लाष्टकर्मीलाई दिएको भनाइमा भने केही फरक परेको थियो । उनले आफू साउनदेखि नै नपामा काजमा आएको र त्यो दिन पर्व विदामा बसेको बताएका थिए ।

स्थानीयबासीका अनुसार उनले कार्यालय समयमा कहिल्यै पनि बस्दैनन् । हाजिर पनि आफ्नै तरिकाले गर्ने गरेको बताएका छन् । कार्यालय समयमा नबस्ने गरेको बारम्बार गुनासो आएपछि ब्लाष्टकर्मीले पनि त्यसको हरेक दिन निरीक्षण अवलोकन गर्ने गरेको थियो । त्यही क्रममा भदौं १४ गते ब्लाष्टकर्मी कार्यालयमा पुग्दा एक जना कार्यालय सहयोगी मात्रै रहेका थिए ।